
मंसिर २०, काठमाडौ : रुकुम पश्चिमका चार जनासहित पाँच नेपाली मलेसियामा अलप-त्र परेका छन् । वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका उनीहरू अल-पत्र परेका हुन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, त्यही नगरपालिकाको वडा नम्बर ११ का टेकबहादुर केसी र सुनिल शाह, सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अल-पत्र परेका हुन् ।
मलेसियामा आफूहरू अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गर्नुभएको छ । उहाँले पाँचै जनालाई कम्पनीले एक हप्तादेखि खानासमेत नदिएको बताउनुभयो ।
नेपालबाट पठाउने कम्पनीले क्लिनरको काममा भन्दै आफूहरूलाई पठाएको भन्दै ओलीले मलेसियामा भने आफूहरूलाई जङ्गलको काममा लगाएको बताउनुभयो । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जनाउनुभयो । आफूलाई नेपालको एजेन्ट र कम्पनीले झु-क्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाहा भएको ओलीको भनाइ छ ।
अर्कै काम दिनपर्यो भन्दा कम्पनीले हामीलाई निकालिदियो । के खाने, कसरी बाँच्ने हामीलाई समस्या भयो, मलेसियाबाट सम्पर्कमा आउनुभएका ओलीले गुहार माग्नुभयो, हामीलाई कि काम गर्ने कि घर पुग्ने वातावरण मिलाइ दिनुपर्यो ।
ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावरमार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरूलाई पठाएको थियो ।
म्यानपावर कम्पनीका एजेन्ट रुकुमको चौरजहारी नगरपालिका ३ का यज्ञबहादुर बटालामार्फत पाँच जना युवा त्यहाँ पुगेका थिए । आफूहरूले प्रतिव्यक्ति दुई लाख ६० हजार रुपैयाँ तिरेर त्यहाँ पुगेको जनाएका छन् ।
यस विषयमा ईलाईट ह्युमन रिसोर्स कम्पनीका प्रमुख झविन्द्र पराजुलीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । म्यानपावर कम्पनीका एजेन्ट बटालाले भने कम्पनीले सबै कुरा स्पष्ट पारेरै पठाएको प्रतिक्रिया दिनुभयो ।
उता पुगेर मेडिकल जाँच गरेर काम सुरु गरेपछि समस्या आएको बुझियो, बटालाले भन्नुभयो, मैलै समस्या समाधानका लागि बारम्बार म्यानपावरसँग कुरा गरिरहेको छु ।
मलेसिया पुगेका कामदारले भने आफन्तै पर्ने एजेन्टमार्फत आएको तर अहिले बेवास्ता गरेको गुनासो गरेका छन् । एजेन्ट र म्यानपावर कम्पनी दुवैले आफूहरूको फोन, म्यासेजको वास्ता नगरेको उनीहरूको भनाइ छ ।