
मंसिर १६, काठमाडौ : भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा
वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो । भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ ।
विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय
अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ । विप्रेषण वा आप्रवासी कामदारबाट हुने कमाइ घरमा रहने परिवारका लागि महत्त्वपूर्ण स्रोत पनि हो ।
पछिल्ला वर्षहरूमा भारतीय नागरिक अमेरिका, बेलायत, सिङ्गापुरलगायतका विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् । रेमिट्यान्सको यो रकम भारतमा कुल ग्रार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो ।
विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गएको वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुँदा एक सय अर्ब डलर नाघेको प्रतिवेदनमा उल्लेख छ ।
उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन् । दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ ।