२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कुनै समय आर्थिक रुपमा धराशायी भएकाे कतार कसरी बन्याे धनी !

मंसिर ५, काठमाडौ : कतारको राजधानी दोहामा फिफा विश्वकप २०२२ को भव्य सुरुवात भएको छ । अबको एक महिनासम्म दोहाले विश्वको ध्यान तानिरहने छ ।

तर के तपाईंलाई थाहा छ, खाडी देश कतार कसरी यति धेरै धनी बन्यो ? एक शताब्दी पहिले सन् १९२२ मा १२ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको कतारलाई मानव बसोबासको लागि उपयुक्त मानिँदैन थियो ।

त्यतिबेला यहाँ आदीबासी बस्थे । तिनीहरुमध्ये अधिकांश माछा मारेर गुजारा गर्थे । यस्तै समुद्रमा मोती खोजेर जीवन निर्वाह गर्थे । यही कारणले कतारको अर्थव्यवस्था जीवित थियो । कतारका जो व्यक्ति अहिले आफ्नो नवौँ दशकमा छन्, उनीहरुसँग सन् १९३०–४० को भयावह आर्थिक शंकट भोगेको अनुभव छ ।

जतिबेला जापानले मोतीको खेती सुरु गर्यो र यसको व्यापक उत्पादन गर्न थाल्यो अनि कतारको आम्दानीको मुख्य स्रोतमा ‘ब्रेक’ लाग्यो । कतारको अर्थव्यवस्था धराशायी बन्यो ।

त्यही दशकमा कतारका ३० प्रतिशत नागरिक राम्रो अवसरको खोजीमा विश्वका विभिन्न देशमा पलायन भए । संयुक्त राष्ट्रसंघका अनुसार त्यसपछि कतारको जनसंख्या २४ हजारमा समेटियो ।

तर फेरि कतारको अर्थव्यवस्थामा एकाएक परिवर्तन आयो । कतारले मोतीबाट तेलमा पाइला बढायो । त्यसपछि कतार चामत्कारिक ढंगले संसारकै सबैभन्दा बढी तेल भण्डारको रुपमा अगाडि आयो ।

२० औँ शताब्दीको मध्यमा आइपुग्दा कतारले तीव्रताका साथ खनिज उत्खनन् सुरु गर्यो । त्यसैको परिणामस्वरुप अहिले कतार विश्वमै धनी देशको स्थानमा छ । कतारसँग गगनचुम्बी भवन, उत्कृष्ट कृत्रिम द्वीप र अत्याधुनिक रंगशाला छन् ।

विश्वका समृद्ध देशहरुको सूचीमा कतार पनि पर्छ । छोटो समयमा यति धनी देश बनेको कतारको आर्थिक क्रान्तिलाई बुझ्न यी तीन घटनालाई बुझ्नुपर्ने हुन्छ ।

सन् १९३९ मा तेलको खोजी

जब कतारमा ‘कालो सुन’ भनिने खनिज तेलको खोजी भयो तब कतार स्वतन्त्र देश थिएन । कतार बेलायती साम्राज्यको हातमा थियो । बेलायतले सन् १९१६ मा कतारमाथि आफ्नो नियन्त्रण गरेको थियो ।

कयौँ वर्षको खोजीपछि पहिलो तेल भण्डार कतारको पश्चिमी तटमा रहेको दोहाभन्दा अगभग ८० किलोमिटरको दुरीमा फेला पर्यो । तर पनि त्यसलाई व्यवसायीकरण गर्न केही वर्ष लाग्यो । अमेरिकाको बेकर इन्स्टिट्युशनमा कतार मामिलाका जानकार क्रिस्टियन कोट्सका अनुसार यो खोज दोस्रो विश्व युद्धको सुरुमा भएको थियो । जसका कारण १९४९ सम्म तेलको निर्यात हुन पाएन ।

तर विश्व यु-द्धलगत्तै कतारले तेल निर्यात गर्न थाल्यो । योसँगै कतारमा अवसर बढ्दै गए र तीव्रताका साथ परिवर्तन देखिन थाले । आधुनिकीकरणले छुन थाल्यो कतारलाई । कतारको तेल उद्योगप्रति आकर्षित भएर विदेशी लगानीकर्ता कतार आउन थाले । योसँगै कतारको जनसंख्यामा वृद्धि हुन थाल्यो । १९५० मा जनसंख्या २५ हजार भन्दा कम भएकोमा १९७० मा पुग्दा एक लाख नाघ्यो ।

जुन देश कुनै समय माछा मार्ने र मोती खोज्ने कामबाट चल्थ्यो त्यस ठाउँको कुल ग्रा-ह्यस्थ उत्पादन १९७० मा आइपुग्दा तीन सय मिलियन अमेरिकी डलरभन्दा धेरै भयो । त्यसको एक वर्षपछि बेलायती शासनको अन्त्य भयो र कतार एक स्वतन्त्र देश बन्यो । योसँगै यहाँ एक नयाँ युगको सुरुवात भयोे, जसले कतारलाई झनै धनी बनायो ।

प्राकृतिक ग्यासको खोजी

जब १९७१ मा इन्जिनियरको टिमले कतारको पूर्वि तटदेखि पर उत्तरी भूमिमा विशाल प्राकृतिक ग्यास भण्डारको खोजी गरे तब कमैले यसको महत्वबारे बुझेका थिए । यो बुझ्नमा १४ वर्ष र दर्जानौँ प्रयास गर्नुपर्यो । उत्तरी भूमिको त्यो ग्यास भण्डार विश्वकै ग्यास भण्डारको दश प्रतिशत हो ।

योसँगै कतार इरान र रुसपछि दोस्रो ठूलो प्राकृतिक ग्यास भण्डार भएको देश बन्यो । उत्तरी भूमिको क्षेत्रफल ६ हजार वर्ग किलोमिटर छ, जुन पूरै कतारको आधा भाग हुनपुग्छ । ‘कतार ग्यास’ विश्वमै सबैभन्दा बढी तरल प्राकृतिक ग्यास उत्पादन गर्ने कम्पनी बनेको छ । यही कम्पनीले नै कतारको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।

तर तेल जस्तै ग्यासबाट आम्दानी गर्न पनि कतारलाई धेरै समय खर्चिनुपर्यो । कतार मामिलाका जानकार कोट्सका अनुसार लामो समयसम्म ग्यासको माग खासै थिएन । तर ८० को दशकमा धेरै कुरामा परिवर्तन हुन सुरु भयो । देशभित्रै यसलाई वितरण गर्न थालियो र ९० को दशकमा कतारले यसको निर्यात गर्न थाल्यो । जसले कतारको अर्थव्यवस्थालाई अगाडि बढाउन इन्जिनको रुपमा काम गर्यो ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।