
कात्तिक २८, काठमाडौ : विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ ।
अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
तर यसको पुष्टि भने हुन सकेको छैन । सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो ।
अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । यद्यपि मुकेश अम्बानीले लिभरपुल किन्न चासो देखाएको यो पहिलो पटक भने होइन ।
सन् २०१० मा सहारा समूहका अध्यक्ष सुब्रतो रोयसँग मिलेर रिलायन्स इन्डस्ट्रिजले लिभरपुलमा ५१ प्रतिशत शेयर खरिद गर्न चाहेका थिए । तर त्यस बेला लिभरपुलका प्रमुख कार्यकारी क्रिस्टेन पर्स्लोले हल्लाको खण्डन गरेका थिए ।