२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

हलिउड फिल्म बनाउने नेपाली स्टुडियो !

कात्तिक २३, काठमाडौं : हलिउड फिल्मकर्मी किरणभक्त जोशी काठमाडौं स्थित इन्सेसेन्ट रेन स्टुडियोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सन् १९८० तिर १९ वर्षको उमेरमा अमेरिका हानिएका उनी हलिउड फिल्म तथा टेलिभिजन शोहरूका निर्देशक, निर्माता र भिजुअल इफेक्ट्स आर्टिस्ट बने ।

उनी खासगरी द लायन किङ, द हन्चब्याक अफ नोट्री अफ ड्याम र मन्डला जस्ता सिर्जनाबाट हलिउडमा परिचित छन् । कम्प्युटर साइन्स तथा इन्जिनियरिङ अध्ययन गरेका उनले लामो समय डिज्नीको कम्प्युटर एनिमेसन प्रोडक्सन सिस्टममा रहेर काम गरे ।

जसले गर्दा धेरैले उनलाई ‘डिज्नी म्यान’को उपमा समेत दिने गरेका छन् । ​यद्यपि जोशी अब चाहिँ आफूलाई ‘इन्सेसेन्ट रेन म्यान’ भनिदिए हुन्थ्यो ठान्छन् । उनी डिज्नीमा आवद्ध हुनुभन्दा केही समय अघिदेखि नै ‘ब्युटी एन्ड द बिस्ट’को काम सुरु भइसकेको थियो । त्यो म्यानुअलबाट क्रमशः डिजिटल प्रविधिमा गइरहेको समय थियो ।

ब्युटी एन्ड द बिस्ट (१९९१) डिज्नीमा उनको पहिलो फिल्म बन्यो । डिज्नीमा पुग्दै गर्दा एनिमेसन कसरी गरिन्छ भन्ने कुरा जोशीलाई थाहै थिएन । त्यस अघि उनी सफ्टवेयर ग्राफिक्स डेभलपर थिए । उक्त भूमिकामा रहेर उनले एउटा कम्पनीमा पाँच वर्ष काम गरिसकेका थिए ।

डिज्नीले ब्युटी एन्ड द बिस्टका लागि जनशक्ति माग गर्दा दुई सय आवेदन परेका थिए । त्यस मध्येबाट छानिएका तीन जनामा जोशी एक थिए ।

सफ्टवेयरबाट एनिमेटेड फिल्मको क्षेत्रमा प्रवेश गरेका उनको रूचि पनि फेरियो । त्यसपछि आठ महिना जति अलादिन (१९९२) मा काम गरेका जोशी द लायन किङ (१९९४) मा सुरु देखि नै संलग्न रहे ।

उक्त फिल्ममा रहेको जङ्गली जनावरको भागदौडको सिन तत्कालीन समयसम्म कसैले नगरेको दाबी उनी गर्छन् । “त्यो सिन हातले कोर्न असम्भव थियो, किन भने हजारौँको सङ्ख्यामा जनावरहरू भागमभाग गरिरहेको दृश्य बनाउनु पर्ने थियो, उनी सम्झिन्छन् ।

करिब चार मिनेटको त्यो सिनका लागि चारपाँच जनाको टिमलाई सफ्टवेयर बनाउन मात्रै १२/१३ महिनाको समय लागेको थियो । यसरी हामीले समग्रमा १५/१६ महिना जतिमा त्यो सिन तयार पारेका थियौँ । पछि ग्राफिक्स कन्फ्रेन्समा पनि त्यसको निकै चर्चा भएको थियो ।

तत्कालीन समयमा कम्प्युटर ग्राफिक्स प्रारम्भिक चरणमै थियो । द लायन किङका लागि तयार पारिएको त्यही एउटा सिनमार्फत जोशीले डिज्नीमा आफ्नो विशेष छाप बनाइ छाडे ।
त्यसपछि डिज्नीले उनलाई द हन्चब्याक अफ नोट्रे ड्याम (१९९६) मा सीजीआई सुपरभाइजरको जिम्मेवारी सुम्पियो । एटलान्टिज, ट्याङ्गल्ड, फ्रोजन लगायतका प्रोजेक्टमा समेत उनले काम गरे । यसरी उनले डिज्निमा १८ वर्ष बिताए ।

सन् २००७ तिर जोशी ‘ट्याङ्गल’को काम गरिरहेका थिए । तर नेपालमा बाढीका कारण एउटा दुखद् घटना घट्यो । जसले गर्दा उनी आफ्ना भाञ्जाभाञ्जी सहित नेपाल फर्किए ।
दिदी पहिल्यै बितिसकेकी थिइन् । भिनाजुले अर्को विवाह गरेका थिए । भिनाजु, दिदी (भिनाजुकी नयाँ श्रीमति) सहित परिवारका पाँचै जना बाढीसँगै बगे ।

नेपाल आएको बेला उनका साथीहरूले ‘डिज्नीमा यतिका वर्ष काम गरिसक्यौँ, अब यतै पनि एनिमेसन स्टुडियो खोले हुन्छ’ भन्ने सुझाव दिन्थे । त्यतिखेर नेपालमा छिट्फुट एनिमेसन एकेडेमी खुल्न थालिसकेका थिए ।

त्यहाँ गएर किरणले विद्यार्थीहरूलाई भेटे । तीन हप्ताको अवधिमा आफूले ३०/३५ जना आर्टिस्टहरूको पोर्टफोलियो हेरेको उनी बताउँछन् । अन्तिम तिर अनिश नाम गरेका एक १९ वर्षीय युवकको रचनात्मक क्षमता देखेर किरण प्रभावित भए ।

त्यतिञ्जेल डिज्नीको काम छोडेर नेपाल आउने विषयमा उनले कुनै किसिमको सोच बनाइसकेका थिएनन् । त्यसै क्रममा किरणलाई ती युवकले भनेका थिए, “दाइ यो त मेरो प्यासन हो, म कमर्स पढिरहेको छु । तपाईँ जस्तो मान्छेले यहाँ आएर हामीलाई कुनै प्लेटफर्म नदिने हो भने अर्को तीन चार वर्षपछि फर्केर आउँदा मलाई कुनै बैंकमा भेट्नु हुनेछ ।”

त्यो कुराले किरणको मथिङ्गल हल्लायो । उनी आफ्नो विगत सम्झिन थाले । त्यसो त किरण १९ वर्षको उमेरमा नेपाल छोडेर अमेरिका गएका थिए । अमेरिका गएर म के गर्छु भन्ने कुरा केही सोचेको थिइँन, किरण सुनाउँछन्, तर त्यो १९ वर्षको अनिश भविष्यमा के गर्ने भन्ने सबै कुरामा प्रस्ट थियो ।

किरणले त्यो रात निकै सोचे । अनि नेपालमै एनिमेसन स्टुडियो खोल्ने निधोमा पुगे । उनले भेटेका तिनै ३०/३५ मध्येका १८ जनालाई एउटा रेस्टुरेन्टमा बोलाएर सुनाए, म चार महिनापछि फर्किएर आउँछु, अब हामीले एनिमेसन स्टुडियो खोल्नुपर्छ ।

किरणको त्यो कुरा कसैले पनि गम्भीर रूपमा लिएका थिएनन् । अमेरिका जानु अघि किरणले नक्सालमा ठाउँ भाडामा लिएर इन्टेरियरको काम अगाडि बढाए ।

२० जनाको टिम बनाएर सन् २००८ को जनवरीमा किरणले नेपालमा आफ्नै एनिमेसन स्टुडियो ‘इन्सेसेन्ट रेन स्टुडियो’ सुरु गरे । सुरुको पाँच छ महिना स्टुडियोको पूर्वाधार निर्माणमै बित्यो ।

सँगसँगै आर्टिस्टहरू विभिन्न किसिमका परीक्षणमा लागे । ​स्वअध्ययनबाट आएका विभिन्न डिजिटल आर्टिस्टलाई लिएर एउटा प्रोडक्सन युनिटको निर्माण भयो ।

स्टुडियोले त्यसबीच स्थानीय विज्ञापन एजेन्सीका केही छिट्फुट काम पनि गर्‍यो । तर विज्ञापन एजेन्सीहरू एनिमेसन स्टुडियोले आफ्नो बजार नै कब्जा गरिदिने त्रासका कारण हच्किन थाले ।
अब चुनौती थियोः नयाँ प्रोजेक्टहरू भित्र्याउने, आम्दानी गर्ने ।

त्यसका लागि किरण डिज्नीमै गए । त्यहाँ उनले लाइन किङ, ब्युटी एन्ड द बिस्टका प्रोड्युसर डन हानलाई भेटे । एनिमेसन विश्वमा उनको नाम सबै माझ परिचित थियो । डन, मैले डिज्नी छोडेर नेपालमा इन्सेसेन्ट रेन स्टुडियो खोलेको छु । अब मलाई काम चाहिएको छ, किरणको आग्रह थियो ।

तर डनले किरणको कुरा हाँसोमै उडाइदिए, तिमी नेपालमा गएर एनिमेसनको काम गर्छु भन्छौ, तर म पत्याउँदिन । त्यसका लागि बिजुली नेपालमा छ त ? हुन पनि हो, सन् २००८ तिर नेपालमा दैनिक १८/१९ घण्टाको चरम लोडसेडिङ थियो । तर आफ्नो देशको त्यो सबै दुरावस्था किरणले खुलाउन चाहेनन् ।

यद्यपि डन सहयोगका लागि तयार देखिए । यसरी इन्सेसेन्ट रेन स्टुडियोले पहिलो प्रोजेक्टको रूपमा डिज्नीकै डिज्नी दिवालीको काम पायो । त्यसपछि ‘मिकी माउस’को प्रोजेक्ट आयो, त्यसका लागि जम्मा ६/७ हप्ताको चुनौती पूर्ण समय सीमा थियो । जसका लागि स्क्र्याचदेखि नै काम गर्नु पर्ने थियो ।

किरणले त्यसको स्टोरी बोर्ड र कन्सेप्टको काम अमेरिकामै रहेका आर्टिस्टलाई जिम्मा लगाए । सुरुमा यहाँ ल्याएर काम गर्ने कुरामा सबै आर्टिस्टहरू हच्किए । गुणस्तरमा थोरै पनि तलमाथि गर्न नपाउने सर्तमा प्रोजेक्ट भित्रियो । किरण आफैँ पनि उक्त समयसीमा भित्र काम फत्ते गर्ने कुरामा आश्वस्त थिएनन् ।

तर जसरी पनि गर्नै पर्छ भनेर हामीले काम थाल्यौँ, किरण सुनाउँछन्, हामीले २४ घण्टामा पाँच छ घण्टा मात्रै सुतेर भए पनि त्यसका लागि काम ग-र्यौँ । नभन्दै हामीले छ हप्ताभित्रै त्यो प्रोजेक्ट सम्पन्न ग-र्यौँ ।

त्यसपछि भने इन्सेसेन्ट रेन स्टुडियोका आर्टिस्टहरूको मनोबल बढ्यो । तर स्थानीय स्तरका प्रोजेक्टबाट मात्र इन्सेसेन्ट रेन स्टुडियो धानिने र अगाडि बढ्न सक्ने अवस्था थिएन । त्यसपछि प्रोजेक्टहरू भित्र्याउन किरण पुनः डिज्नी गए र आफ्ना क्लाइन्ट जुटाउन थाले ।

इन्सेसेन्ट रेन स्टुडियो सुरु भएको तीन चार वर्षपछि एनिमेसन मात्र नभएर लाइभ एक्सनको काम समेत थाल्ने लक्ष्यका साथ किरणले भिजुअल इफेक्ट खोले । त्यसयता इन्सेसेन्ट रेन स्टुडियोले १५० भन्दा बढी फिल्म र टेलिभिजन शोहरूमा काम गरिसकेको छ ।

भर्खरैको गेम अफ थ्रोन्सको हाउस अफ ड्रागनको अनुभव समेत स्टुडियोसँग छ । यसरी नेपालबाटै अन्तर्राष्ट्रिय स्तरका ‘हाई प्रोफाइल’ प्रोजेक्टहरूमा इन्सेसेन्ट रेन स्टुडियोले काम गर्दै आएको छ ।

झन्डै डेढ दशक लामो यात्रामा स्टुडियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको छ । जसले गर्दा स्टुडियोलाई प्रोजेक्ट तथा कामको अभाव छैन । अहिले स्टुडियोमा करिब १७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

तर त्यसका लागि काम गर्ने प्रशिक्षित प्रतिभाको अभाव भने चुनौतीको विषय रहेको किरणको भोगाई छ । आवश्यक जनशक्तिका लागि स्टुडियो आफैँले तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ ।

स्टुडियोमा आवश्यक दक्ष जनशक्ति तयार पार्न छुट्टै एकेडेमी खोल्ने योजना समेत किरणले बनाएका छन् । एकेडेमीबाट ग्राजुएट गर्नेहरूलाई इन्सेसेन्ट रेन स्टुडियोमै प्लेसमेन्ट गराइने उनी बताउँछन् ।

यो एकदमै तीव्र रूपमा वृद्धि र विकास भइरहेको क्षेत्र हो, किरण भन्छन्, “किन भने एनिमेसन र डिजिटल कन्टेन्ट भनेको कार्टुन, लाइभ एक्सन र टिभीको काम मात्र होइन ।

भिडिओ तथा अनलाइन गेम समेत यसैमा पर्छ । अहिलेको यो १५० अर्ब अमेरिकी डलरभन्दा बढीको उद्योग हो । अबको पाँच वर्षमा यसको आकार बढेर ३०० अर्ब डलर पुग्दैछ ।

यति मात्र नभएर मेटाभर्सको क्षेत्र समेत एनिमेसनकै कारण विकास हुन थालेको हो । त्यसैले सफ्टवेयर डेभलपर र डिजिटल आर्टिस्ट आफ्ना लागि एकदमै महत्त्वपूर्ण रहेको किरण सुनाउँछन् ।

२०७९ कार्तिक २३, बुधबार प्रकाशित 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।