
कात्तिक १०, काठमाडौ : अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ ।
यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् ।
कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ । उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा रहनु भएको छ ।
प्रतिस्पर्धा गर्नुहुनेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिनु भएका डा ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ हुनुहुन्छ ।
भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार वन्नु भएको हो । सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गर्नु भएर एउटा अलग्गै इतिहास रच्न सफल हुनु भएको छ ।
सन् २००१ मा अध्ययनको लागि अमेरिका आउनु भएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उहाँले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिनु भएको थियो । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उहाँ डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिनु भएको छ ।भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुनुहुन्छ ।
उहाँले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फवाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाउनु भएको हो ।भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफनो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा हुनुहुन्छ । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उहाँको भनाइ छ ।
उहाँको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उमेद्वारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् ।
भण्डारी आफनो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुग्नु भएको छ । उहाँले सन् २०१८ मा व्यक्त गर्नु भएको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गर्नु भएको थियो ।
यसले उहाँको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उहाँको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्नुहुन्छ । भण्डारीले भन्नुहुन्छ, मैले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा प-र्याप्त बजेट ल्याउन सफल भएको छु । करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् ।