२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

कतारमा नेपाल एयरलाइन्सलाई हमाद विमानस्थलमा साढे तीन महिना रोक !

भदौ ३१, काठमाडौ : कतार सरकारले नेपालका दुई एयरलाइन्ससहित विभिन्न वायुसेवा कम्पनीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडान दोहा विमानस्थलमा स्थानान्तरण गर्न निर्देशन दिएको छ।

विश्वकप फुटबललाई लक्ष्य गर्दै कतारले आज १५ सेप्टेम्बरदेखि ३० डिसेम्बरसम्म यस्तो व्यवस्था लागू गरेको हो। नेपालको राष्ट्रिय ध्वजा-वाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सहित विभिन्न मुलुकका १३ वायुसेवा कम्पनीका लागि यो व्यवस्था लागू गरिएको छ।

यी कम्पनीले अब साढे तीन महिना हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउने छैनन्। यसको सट्टा दोहा विमानस्थलबाट उडान गर्नुपर्नेछ। नेपाल एयरलाइन्सले सातामा चारवटा काठमाडौं-हमाद-काठमाडौं उडान गरिरहेको छ।

सातामा एउटा उडान गरिरहेको हिमालय एयरलाइन्सले पनि बिहीबारबाटै दोहा स्थानान्तरण भएको बताएको छ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले कतारको हमादका लागि उड्ने आफ्नो जहाज बिहीबारदेखि नै दोहा स्थानान्तरण भएको बताइन्।

उनका अनुसार नेपाल एयरलाइन्समा यात्रा गर्नेहरू काठमाडौं विमानस्थलबाट कतारको दोहासम्म मात्र धेरै जान्छन्। दोहालाई ट्रान्जिट बनाएर अर्को गन्तव्य जान हमाद विमानस्थलमै पुग्नुपर्छ।
दोहा विमानस्थलमा ट्रान्जिटको सुविधा छैन।

त्यसैले नयाँ व्यवस्थाबाट ट्रान्जिटका यात्रुलाई केही समस्या हुन्छ। तर नेपाल एयरलाइन्समा दोहा हुँदै अन्य गन्तव्य जाने यात्रुहरू खासै हुँदैनन्, उनले भनिन्, भइहाले पनि हामी उहाँहरूलाई पूर्वसूचना दिनेछौं। यसका लागि सूचना पनि प्रकाशित गरिसकेका छौं।

एयरलाइन्सले गत आइतबार सार्वजनिक सूचना प्रकाशन गरेर यात्रुहरूलाई यसबारे जानकारी गराएको थियो। टिकट लिइसकेका यात्रुलाई पनि सूचना पठाइसकेको एयरलाइन्सले जनाएको छ।

कतार सरकारको निर्देशनअनुसार दोहा विमानस्थलबाट हमाद विमानस्थल जानुपर्ने यात्रुले त्यहाँसम्म पुग्ने व्यवस्था आफैं गर्नुपर्नेछ। हमाद र दोहा अन्तर्राष्ट्रिय विमानस्थलबीच करिब ११ किलोमिटर दुरी छ। विदेशमा यो दुरी आफैं तय गर्न सर्वसाधारणलाई अप्ठ्यारो हुनसक्छ।

यसका लागि नेपाल एयरलाइन्सले नै यात्रुहरूलाई त्यहाँसम्म लैजाने व्यवस्था गर्छ कि गर्दैन भन्ने प्रश्नमा प्रवक्ता खड्काले भनिन्, नेपाल एयरलाइन्सले अन्यत्र विमानस्थलमा उडान स्थानान्तरण गरेको होइन, कतार सरकारले नै गराएको हो।

त्यसैले यात्रुलाई घर-घरसम्म पु-र्याउने जिम्मा नेपाल एयरलाइन्सको होइन। हमादबाट दोहा सरेका एयरलाइन्समार्फत् आवतजावत गर्ने यात्रुहरूले कतारमा आउने वा ट्रान्जिटका लागि पनि भिसा लिनुपर्नेछ।

दोहा विमानस्थलमा भिसाको सुविधा नभएकाले पहिले नै लिनुपर्ने प्रवक्ता खड्काले जानकारी दिइन्। त्यस्तै यात्रुहरूले आफ्ना सम्बन्धित उडानका लागि दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नासाथ झोलाहरू अनिवार्य रूपमा संकलन गर्नुपर्नेछ। सेतो पाटीमा खबर छ ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।