२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मलेसिया खाडीमा कार्यरत युवाहरुको रोजाइमा !

असार ३२, काठमाडौ : लामो समयसम्म मलेसिया जान रोक लगाइएको थियो। केही समयअघिमात्रै सरकारले त्यहाँ रोजगारीका लागि फेरि ढोका खोलिदिएको हो।

योसँगै केही युवाहरू त्यहाँ पुगिसकेका छन् भने केही उड्ने तरखरमा छन्। तर, नेपालबाटमात्रै नभएर अहिले खाडीका अरू देशमा काम गरिरहेका श्रमिकको रोजाइ पनि मलेसिया नै पर्न थालेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेष नारायण पौडेलले खाडीमुलुकमा काम गरिरहेका युवाहरु अहिले त्यहाँको रोजगारी छोडेर मलेसिया जान नेपाल फर्किन थालेको बताउँछन्।
‘साउदीलगायतका मुलुकमा कार्यरत युवाहरुको रोजाइ अहिले मलेसियातर्फ बढेको छ।

मलेसिया जानका लागि भनेर त्यहाँको काम छोडेर नेपाल फर्किने गरेको हामिले पाएका छौं, शुक्रबार विभागमा आयोजित कार्यक्रममा पौडेलले भने।

खाडी मुलुकहरुमा न्यूनतम पारिश्रमिक मलेसियाकाभन्दा कम छ। मलेसियामा मौसम पनि राम्रो र पछिल्लो समय सेवा–सुविधा पनि बढेकाले खाडी मुलुक छोडेर नेपाली युवाहरु मलेसिया जाने योजनामा छन्।

नेपाल सरकार र मलेसियन सरकारबीच ११ कार्तिक २०७५ सालमा नेपालबाट शून्य लागतमा श्रमिक लैजाने गरी श्रम सम्झौता भएको थियो।

तत्कालीन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा दुई मुलुकबीच सम्झदारी भएको थियो। तर, करिब १६ महिनासम्म नेपाली श्रमिक मलेसिया जान पाएनन्। त्यो सम्झौतामा नेपाली कामदारले कुनै खर्च नतिरी शून्य लागतमा मलेसिया जान पाउने सम्झौता छ।

हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ।
कामदारलाई लेवी पनि लाग्ने छैन। त्यस्तै, मलेसिया जाने कामदारको करार अवधि दुई वर्षको हुनेछ। यसअघि तीन वर्ष थियो।

कामदारले प्रत्येक महिनाको सात गतेभित्र बैंक खातामा पारिश्रमिक पाउँनेछन। मलेशियन सरकारले तोकेको न्यूनत्तम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता, अतिरिक्त कामको भुक्तानी, खाना र बस्नको लागि रोजगारदाता कम्पनीले नै व्यहोर्ने सम्झौता उल्लेख गरिएको थियो।

त्यस्तै, कामदार बिमानस्थल पुगेको ६ घण्टाभित्र रोजगारदाताले गन्तव्य स्थलमा लैजानुपर्नेछ। कामदार र रोजगारदाताबीच कुनै विवाद भइ मुद्दा विचारधीन रहेसम्म मलेसियामा नै कामदार बस्न पाइन्छ।

नेपाली कामदारको मुख्य गन्तब्यमध्ये एक मलेसिया पनि हो। हाल मलेसियामा चार लाखभन्दा बढी नेपाली कामदार रहेको सरकारी अनुमान छ। आर्थिक वर्ष २०७८/७९ मा ३५ हजार ४१४ नेपालीले मलेसियाका लागि श्रमस्विकृती लिइसकेका छन्।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।