
असार २९, काठमाडौ : कञ्चनपुरका रोहनजंग ठकुरी ८ असारमा बेलायत गए । मौसमी कामदार (सिजनल वर्कर) को रूपमा गएका उनी यूकेको हेरिफोर्डमा स्ट्रबेरी टिप्ने काममा छन् ।
हरेक दिन बिहान ४ बजे उठ्नु अनि ५ बजेदेखि स्ट्रबेरी टिप्न जानु उनको दिनचर्या बनेको छ । दिउँसो एक घण्टाजति विश्राम हुन्छ । कामको चापअनुसार ७ घण्टादेखि १२ घण्टासम्म चल्छ । हामीलाई हरेक दिन टार्गेट दिइन्छ ।
त्यसैले छिटो गर्न भन्छन् । स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने बढी ड्युटी हुन्छ, रोहनले भने । स्ट्रबेरी टिपाइमा घण्टाको भन्दा पनि क्रेटको हिसाबले पारिश्रमिक दिइन्छ । जबकि नेपालबाट लैजाँदा उनलाई घण्टाको हिसाबले पारिश्रमिक पाउने भनिएको थियो ।
उनी अहिले एक क्रेट स्ट्रबेरी टिपेको ३ पाउण्ड पाउँछन् । कामको चाप अनुसार दिनको २० देखि ३५ क्रेटसम्म स्ट्रबेरी टिप्छन् ।
नेपालमा एजेण्टले घण्टाको १०.१० पाउण्ड पाइन्छ भनेको थियो । तर,यहाँ आएर त क्रेटको हिसाबले पैसा दिइरहेको छ, यूकेबाट उनले रातोपाटीसँगको कुराकानीमा उनले भने ।
घण्टाको १०.१० पाउण्ड पाउने भनेपछि दिनमा ८० पाउण्ड भन्दा बढी आम्दानी हुन्छ भन्ने उनको अनुमान थियो । तर,अहिले सरदर ६० पाउण्ड अनि ८० पाउण्ड कहिलेकाहीँ मात्र हुन्छ ।
रोहनले काम गर्ने कम्पनीमा ५० जना नेपाली छन् । ती मध्ये २ जना महिला थिए,एक जना भागेर पोर्चुगल पुगिसकिन् । नेपालीबाहेक उक्त कम्पनीमा युक्रेन,बुल्गेपरया,रुस लगायतका १६० जना विदेशी कामदार छन् ।