२०७९ असार १५ बुधबार
  • काठमाडौँ

कसरी बन्यो युएई ? युएईको अल-नह्यान वंशः जसले मरुभूमिको देशलाई विश्व शक्तिमा बदल्यो !

जुन २२, एजेन्सी : ५० वर्ष अघि तिनको पहिचान अरबी प्रायद्वीपको मरुभूमिमा बसेको कबिला राज्यहरू एक समूहको रूपमा थियो । लगभग आधा शताब्दीपछि, पहिलेका खुला खुल्ला बजार र पालका घर रहेको स्थानहरु गगनचुम्बी

भवनहरूले भरिएका छन् । आज त्यहाँ अरबी प्रायद्वीपमा सबैभन्दा ठूलो कला सङ्ग्रहालय पेरिसको लुभ सङ्ग्रहालयको शाखा खोलिएको छ । त्यहाँ न्यूयोर्क विश्वविद्यालय तथा पेरिसको सोर्बोन विश्वविद्यालयका विभाग खुलेका छन् ।

आज त्यहाँ संसारको सबैभन्दा अग्लो भवन, सबैभन्दा भव्य होटल (सात तारे होटल), संसारको सबैभन्दा महँगो पेन्टिङ (लियोनार्डो दा भिन्चीको साल्वाटर मुन्डी ) र विश्वको सबैभन्दा ठूलो सपिङ मल छ ।

यति मात्र होइन, सो देश आफ्नै अन्तरिक्षमा अभियान सञ्चालन गर्ने विश्वका थोरै देशमा सामेल भएको छ भने समृद्ध मुलुकको जस्तै उसले कार्यालय समय घटाएर साढे चार दिन पुर्‍याइसकेको छ ।

हामी संयुक्त अरब इमिरेट्स (युएई) को कुरा गर्दैछौँ । यो मुलुक उसको तेल खानीको प्रयोग गरेर आधुनिकता र प्रविधितर्फ अगाडि बढिरहेको छ । साथमा पछिल्लो समय यो पूर्व र पश्चिम बीचको पुल बन्न थालेको छ ।

एक प्रमुख वैश्विक शक्ति : पर्सियन खाडीको किनारमा अवस्थित युएई आधा शताब्दीभन्दा कम समयमा एक प्रमुख वैश्विक शक्ति बनेको छ । यस परिवर्तनका लागि विज्ञहरु शेख खलिफा बिन जायद अल नह्यानलाई जस दिन हिचकिचाउँदैनन् । उनको गत महिना मे २०२२ मा ७३ वर्षको उमेरमा निधन भयो ।

अबुधाबीका शासक र युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नह्यानले क्षेत्रीय विकासको बलमा आफ्नो देशलाई विश्वको नक्सामा स्थान बनाए । सन् २०१४ मा मस्तिष्कघात भएपछि उनले शासनको नियमित काम छाडे तर उनको उपस्थिति जताततै देखिन्थ्यो ।

उनको तस्बिर होटेलको लबी, सरकारी कार्यालय र पसल तथा रेस्टुरेन्टहरूमा जताततै देखिन्थ्यो । सरकारी कामको निरीक्षण स्वाभाविक रूपमा उनका सौतेनी भाइ मोहम्मद बिन जायद अल नह्यानको हातमा गयो । उनी पहिलेदेखि एमिरेट्सको विदेश नीतिको नेतृत्व गर्दै आएका थिए ।

र शेख खलिफाको मृत्युपछि मोहम्मद बिन जायद अहिले देशको राष्ट्रपति बनेका छन् ।शेखहरूको यो वंशले कसरी आफ्नो देशलाई मध्य पूर्वको एक कबिलायी राज्यबाट सो क्षेत्रको सबैभन्दा शक्तिशाली देशमा परिणत गर्न सफल भयो त ?

कसरी बन्यो युएई ?

सन् १९६० को दशकसम्म यो क्षेत्र बेलायती नियन्त्रणमा थियो । सो दशकको उत्तरार्धमा बेलायतले अरबी प्रायद्वीप छोड्ने निश्चित जस्तै भएको थियो । भारतमा बेलायती शासन हुँदा बेलायत र भारतबीच आउजाउ गर्ने जहाजमाथि अरबी क्षेत्रका केही लडाकु कबिलाले लुटपाट गर्थे ।

त्यसैलाई नियन्त्रण गर्न एक शताब्दी अघि बेलायतले पर्सियन खाडीसँग जोडिएको अरबीय भूभागमा नियन्त्रण बनायो । तटी क्षेत्रमा बढी उसको नियन्त्रण थियो भने बाँकी भेगमा कबिला शासन चलिरहेको थियो ।

भारत स्वतन्त्र भएपछि र अरबी क्षेत्रमा स्वतन्त्रताको माग बढ्न थालेपछि बेलायत यस क्षेत्र छोड्ने निर्णयमा पुग्यो । बेलायतले छाड्ने तयारी गरिरहेकै समयमा सो क्षेत्रका ६ बलियो कबिला समाजहरू दुबई, अबुधाबी, शारजाह, अजमान, उम अल क्वाइन, फुजैराहका शेखहरूले एक परिषद् गठन गरे ।

यो परिषद् उनीहरूबिच सीमालाई लिएर भइरहने विवाद मिलाउन गठबन्धन गरिएको थियो । स्पष्ट सिमाना नछुटिएका घुमन्ते समाज भएकाले उनीहरूबिच पटक पटक प्रभाव क्षेत्रलाई लिएर विवाद भइरहन्थ्यो । तर परिषद्ले विवाद मात्र मिलाएर बिस्तारै एकीकृत राज्य निर्माण प्रक्रिया सुरु ग-र्यो ।

डिसेम्बर १९७१ मा, यी ६ एमिरेट्स मिलेर नयाँ अर्ध–स्वायत्त देश संयुक्त अरब इमिरेट्स’ गठन भयो । केही महिना पछि अर्को छिमेकी एमिरेट्स रस अल खैमाह पनि उनीहरूसँग सामेल भयो । योसँगै संयुक्त अरब इमिरेट्सले आजको आकार पायो ।

७ इमिरेट्समध्ये आकार र प्रभावका हिसाबले सबैभन्दा ठूलो अबुधाबीका तत्कालीन अमिर जायद बिन सुल्तान अल–नाह्यान (खलीफा र मोहम्मदका पिता) देशको पहिलो राष्ट्रपति चुनिए ।स्वतन्त्रताभन्दा केही अघि नै एमिरेट्समा तेल पत्ता लागिसकेको थियो र तेल विक्रीबाट आएको आयको ठूला मात्रा अर्थ व्यवस्थामा खनाइयो ।

साथमा ती आयलाई सार्वजनिक पूर्वाधार निर्माणमा लगाउन थालियो । ‘डिजर्ट किंगडम टु ग्लोबल पावरः द राइज अफ द अरब गल्फ’मा लेखक इतिहासकार रोरी मिलरका अनुसार अरबी मुलुकहरूले तेलको आम्दानीलाई सरोकारवालाहरूबीच

बाँडफाँडको मजबुत प्रक्रिया निर्माण गरे । यसले गर्दा उनीहरूबिच द्वन्द्व हुन पाएन । परिणाम स्वरुप यो क्षेत्रले आर्थिक सफलता पायो । साथमा उनीहरुले तेलबाट बेचेर बचेको रकमलाई स्थिर सम्पत्तिहरू घर जग्गा, कला र स्टक रूपान्तरण गरेर पनि बुद्धिमत्तापूर्ण काम गरे ।

२०७९ असार ८, बुधबार प्रकाशित 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार