
दुबई : सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगेका थिए । त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेका थिए ।
कोरोना महामारीले त्यसरी पुगेकाले रोजगारी नपाएपछि सडकमा अलपत्र परेका थिए । धेरै नेपाली अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा अध्ययन समिति बनाएको थियो ।
समितिले भिजिट भिसामा सबैभन्दा धेरै समस्या युएईमा रहेको औँल्याएको थियो । समितिको प्रतिवेदनअनुसार सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा युएई पुगेका थिए । धेरैजसो रोजगारीकै खोजीमा त्यहाँ गएको समितिको निष्कर्ष छ ।
युएई सरकारले भिजिट भिसालाई कामदार भिसामा सहजै परिवर्तन गर्ने भएकाले यसमा गिरोहहरू नै सक्रिय हुने गरेका छन् ।
सयौँ नेपाली युएईलगायत देशमा अलपत्र परेपछि सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा हेरफेर गरी कडाइ पनि गरेको थियो । गत वर्ष १० माघदेखि लागू हुने गरी खाडीका १८ देश तथा मलेसियामा भिजिट भिसामा अत्यावश्यक कामबाहेकको
अवस्थामा जान रोक लगाइयो । हाल १८ बुँदे मापदण्ड लागू गरिएको छ । भिजिट भिसाको दुरुपयोग रोक्न नयाँ कार्यविधि बनाएर गृह मन्त्रालयमा पठाइएको र स्वीकृत भएपछि
लागू हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई बताउँछन् । जसमा घुम्नकै लागि विदेश जानेले अनिवार्य रूपमा निश्चित बैंक ब्यालेन्स देखाउनुपर्ने प्रस्ताव गरिएको छ ।