
रियाद : साउदी सरकारले आप्रवासी कामदारलाई लक्षित गर्दै महत्वपूर्ण निर्णय सार्वजानिक गरेको छ । अब आप्रवासी श्रमिकहरुले रोजगारदाता मन नपरेको खण्डमा अनुमतिबिना
रोजगारदाता परिवर्तन गर्न र साउदी छोड्न पाउने भएका छन् ।
यो नियम साउदिको सबै क्षेत्रमा लाहु भएको साउदीको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
श्रम बजारलाई व्यवस्थित र आकर्षक बनाउन सो व्यवस्था गरिएको साउदी अरेबियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बिन नासिर अबुथनैनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।
नयाँ व्यवस्था लागू भएपछि रोजगारदाता मन नपरेको अवस्थामा कामदारले सहजै अर्काे रोजगारदाता परिवर्तन गर्न सक्नेछन्।
तर, रोजगारदाता परिवर्तन गर्न करार अवधि भने पूरा गरेको हुनुपर्नेछ ।
त्यस्तै करार अवधि सकिएका कामदारलाई घर फर्किन एक्जिट पर्मिट (गमनपत्र) र पुनः साउदी फर्किन पहिले रोजगारी गर्दै आएको कम्पनीबाट ‘नो अबजेक्सन लेटर’ (एनओसी) चाहिने छैन।
साउदीमा साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । साउदी सरकारले गरेको यो निर्णय ले नेपाली कामदारलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएकाे छ।
रोजगारदाताको अनुमतिबिना नै काम र कम्पनी परिवर्तन गर्न पाइने भएपछि साउदीमा नेपाली कामदारहरु अवैधानिक हैसियतको हुनबाट समेत जोगिने उनको विश्वास छ।