
काठमाडौं : नयाँ विदेशी कामदार भर्ना प्रक्रियासँगै उनीहरू बस्ने होष्टल तथा डोर्मिटरीहरू मापदण्ड बारेमा नयाँ बहस शुरू भएको छ । मलेसियामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र भएपछि आप्रवासी कामदार बस्ने होस्टेलहरूको
स्वच्छता र मापदण्डबारे छलफल भएको हो । मलेसियाको श्रम विभागले हालै गरेकोे अनुगमनमा अधिकांश स्थानमा कामदारहरू सामान राख्ने बक्समा सुत्नु परेको, खाना पकाउने किचन साङ्लाले घेरिएको र पानीको पाईप फुटेको र सुत्ने स्थान साँघुरो देखिएको थियोे ।
कोरोना संक्रमण फैलावटको कारण पहिल्याउने क्रममा आप्रवासी कामदारहरुको साँगुरो र अस्वस्थ बासस्थान पनि एक कारण पाइएपछि मलेसिया सरकारले अघिल्लो वर्षको जुलाईमा रोजगारदातालाई आप्रवासी कामदारहरुको उचित वासस्थान व्यवस्था गर्न निर्देशन दिएको थियो ।
तर अधिकांश रोजगारदाताहरुले आर्थिक भारको कारण देखाउँदै वासस्थानको व्यवस्था नगरेको पाइएको मलेसियामा कार्यरत ट्रेड युनियनहरूले बताएका छन् ।
मलेसियाको आधिकारिक ट्रेड युनियन संस्था मलेसियन ट्रेड युनियन कंग्रेसले रोजगारदाताहरुले वासस्थान व्यवस्थानपनका लागि समय माग गरेपनि त्यसमा इमान्दारिता नरहेको टिप्पणी गरेको छ ।
रोजगारदाताहरुले वर्षौंदेखि ठूलो नाफा गर्दै आएपनि कामदारको आवास तथा उचित वासस्थानको क्षेत्रमा लगानीको नगर्ने आरोप निजी क्षेत्रमाथि लागेको छ ।
मलेसियन ट्रेड युनियन महासंघका महासचिव जे सोलोमान न्यून तलवमा काम गर्नुपर्ने बाध्यतामा रहेका आप्रवासी कामदार उचित वासस्थानको अभावमा अस्वस्थकर स्थानमा बस्न बाध्य भइरहेको धेरै अगाडि देखि टिप्पणी गर्दै आएका छन् ।
अघिल्लो वर्ष मलेसियाको संसदबाट पारित भएको आवास तथा बसोबास सम्बन्धि एक ऐनले सबै क्षेत्रका आप्रवासी कामदारहरुलाई आवासको उचित प्रवन्ध गर्नुपर्ने उल्लेख गरेकोे छ ।
मलेसिया सरकारले आप्रवासी कामदारको आवास सम्बन्धि उचित प्रवन्ध नगर्ने कम्पनीलाई प्रति कामदार ५० हजार रिगेटसम्म जरीवाना गर्ने चेतावनी दिएको छ ।