२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मलेसियामा १ लाख अवैध नेपाली कामदार

क्वालालम्पुर : मलेसियामा करार अवधि सकिए पनि १ लाखभन्दा धेरै कामदार स्वदेश नफर्की रोजगारदाता कम्पनीमा शरण लिएर काम गरिरहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ ।

कति संख्यामा नेपाली कामदार अवै-धानिक रूपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले जानकारी दिए । उनका अनुसार मलेसियामा करिब ५ लाख नेपाली रोजगारीमा कार्यरत छन् ।

तीमध्ये ८० हजारदेखि १ लाखसम्म नेपाली कामदार अवैध रूपमा बसेर काम गरिरहेको हुन सक्ने अनुमान छ । अवैध रूपमा बसेर काम गरिरहेका नेपाली कामदारहरूलाई मलेसिया सरकारले स्वदेश फर्किन दिएको मौकाको उपभोग गर्न दूतावासले पटक–पटक आग्रह गरिरहेको राजदूत पाण्डेले बताए ।

मलेसियाको पछिल्लो यो नीतिबाट अवै-धानिक रूपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन् । मलेसियाबाट एकैपटक ठूलो संख्यामा कामदार फर्काउन समस्या हुन्छ ।

दूतावासले रिहाइरिङ र घर फिर्ती कार्यक्रममार्फत स्वदेश फर्किन आग्रह गरिरहेको छ,’ उनले भने, ‘मलेसियामा अवैध रूपमा बसेका कामदारलाई समस्या परे दूतावासलाई सहयोग गर्नै मुस्किल हुन्छ । उनीहरूसँग आवश्यक कागतजागत नहुँदा कुनै पनि बेला प्रहरीको फन्दामा पर्न सक्छन् ।

सबै अवैध कामदार कानुनी समस्यामा परिरहेका छन् ।’
रिहाइरिङ र घर फिर्ती कार्यक्रम डिसेम्बर २०२१ को अन्त्यसम्म छ । यो सेवा उपभोग गरी स्वदेश फर्किन मलेसियामा रहेका अवैध कामदारलाई उनको आग्रह छ ।

मलेसियामा अवैध रूपमा बसेका कामदारलाई स्वदेश फर्किन आवश्यक कागजात बनाएर स्वदेश फर्काउन सहयोग गरिने राजदूत पाण्डेले जानकारी दिए । हाल मलेसियाको विभिन्न जेलमा १ सय ६३ नेपाली कामदार रहेको दूतावासले जनाएको छ ।

सन् २०१४ देखियता आममाफीको उपयोग गरी करिब साढे ९ लाख विदेशी कामदार स्वदेश फर्किएको मलेसियाको अध्यागमन विभागले जनाएको छ । जसमा ३० हजारभन्दा बढी नेपाली कामदार सोही आममाफी कार्यक्रममार्फत स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

२०७५ सालमा उत्पन्न भएको सिन्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन सकेका छैनन् । विगत तीन वर्षयता मलेसिया कामदार पठाउने प्रक्रिया ठप्पजस्तै छ । मलेसिया र नेपालबीच १२ कात्तिक २०७५ मा सरकारी स्तरमा श्रम सम्झौता भएको थियो ।

नेपाल र मलेसियाबीच भएको त्यो सम्झौता १७ वर्षको थियो । तीन वर्षदेखि असहज बन्दै गएको मलेसिया रोजगारीमा कोरोना महामारीका कारण थप संकटमा परेको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।

सरकारका कारण तीन वर्षदेखि ओझेलमा परेको मलेसियाको रोजगारी त्यहाँको पछिल्लो निर्णयले झन् समस्या थपिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । नेपाली कामदार मलेसिया आपूर्ति गर्दै आएका ४ सयभन्दा बढी म्यानपावर विस्थापित भइसकेको संघले बताएको छ ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।