२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

टेस्लाका मालिक एलन मस्कलाई श्रीलंका देश नै किन्न सुझाव ?

अप्रिल १७, काठमाडौं : टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १०

प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन् । त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन् । मस्कको उक्त प्रस्तावका बारेमा ट्वीटरको बोर्डमा समेत छलफल भएको छ ।

२ खर्ब १९ अर्ब डलरका मालिक मस्कले ट्वीटर मात्र होइन हाल आर्थिक संकटमा फसिरहेको मुलुक श्रीलंका नै खरीद गर्न कतिपयले सल्लाह दिएका छन् । स्नापडिल कम्पनीका सीईओले मस्कलाई यस्तो सुझाव दिएका हुन् ।

सीईओ कुणाल बहलले ट्वीटर खरीद गर्नुको साटो श्रीलंका खरीद गरेर आफ्नो नाम ‘सिलोन मस्क’ राख्न पनि मस्कलाई सुझाव दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्– ट्वीटर खरीद गर्न एलन मस्कको प्रस्ताव ४३ अर्ब डलर, श्रीलंकाको ऋण ४५ अर्ब डलर ।

उनले श्रीलंका खरीद गरेर आफूलाई सिलोन मस्क बनाउन सक्दछन् ।स्मरण रहोस् मस्कले गत अप्रिल ४ मा ट्वीटर कम्पनीको ९.२ प्रतिशत शेयर खरीद गरेका थिए । तत् पश्चात् ट्वीटरका सीईओ पराग अग्रवालले एलन मस्कलाई ट्वीटरको बोर्डमा सामेल हुने प्रस्ताव गरेका थिए ।

तथापि मस्कले ट्वीटर बोर्डमा सहभागी हुन अस्विकार गरे र एक्कासी ४३ अर्ब डलरमा कम्पनी नै खरीद गरिदिने प्रस्ताव अगाडि सारे ।

ट्वीटरमा लगानी गरिसकेपछि आफूलाई हालको अवस्थामा ट्वीटर फस्टाउन नसक्ने र विद्यमान स्वरुपमा सामाजिक अनिवार्यतालाई पूरा गर्न समेत नसक्ने अनुभूति भएको भन्दै मस्कले ट्वीटरलाई एक निजी कम्पनीको रुपमा परिणत गर्नु आवश्यक रहेको बताएका छन् । –एजेन्सी

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।