
अप्रिल १०, क्वालालम्पुर : मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति’ दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा
गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैर-कानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो ।
त्यसपछि गत वर्ष अप्रिल १५ देखि ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई निर्माण, उत्पादन लगायत क्षेत्रमा रोजगारीमा लगाइएको थियो ।
त्यतिबेला रोजगारीका विभिन्न थप १७ सहायक क्षेत्रहरु खुला गरिएको थियो ।
त्यसरी गैर-कानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकीएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो ।
औद्योगिक क्षेत्रहरुमा भएको माग पू-र्ति गर्न र गैर-कानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको हो । यो निर्णय लागू भएमा यहाँ गैर-कानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले बैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् ।
यद्यपि यो निर्णय मलेसियाली महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी प्रक्रियाबारे टुंगो लागिसकेपछि मात्र लागू हुने जनाइएको छ । गैर-कानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केही पनि खुलाइएको छैन ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रोजगारदाताले यसअघि विदेशी कामदारलाई रोजगारी दिन अवलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरी कामदारको लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ ।