२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बधाई ! ३९ वर्षीय पेपेका नाममा बन्यो विश्वकपकै दुर्लभ रेकर्ड !

मंसिर २१, काठमाडौ : पोर्चुगलका भेट्रान डिफेन्डर पेपेका नाममा विश्वकप फुटबलमा निकै दुर्लभ कीर्तिमान बनेको छ । अन्तिम १६ को खेल दौरान पोर्चुगलले गत राति आफ्नो

परिचित प्रतिस्पर्धी स्वीट्जरल्यान्डलाई ६–१ को फराकिलो अन्तरमा पराजित गर्ने क्रममा पेपेले १ गोल गरेपछि उनका नामा यस्तो रेकर्ड बनेको हो । सो गोलसँगै पेपे अब विश्वकप फुटबलको इतिहासमा गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन् ।

पेपेले आफ्नो उमेर ३९ वर्षभन्दा बढी हुँदा विश्वकप फुटबलमा गोल गरेर यस्तो रेकर्ड बनाएका हुन्, त्यो पनि नकआउट चरणको गोल । गत रातिको खेलमा पोर्चुगल खेलमा १–० ले अघि रहेका बेला पेपेले ३३औं मिनेटमा हेडिङमार्फत् शानदार गोल गरेर टिमको अग्रता दोब्बर पारेका थिए ।

कर्नरबाट ब्रुनो फर्नान्डेजले हानेको सटमा बक्सअघि रहेका पेपेले जम्प हानेर शानदार हेडिङ गोल गरेका थिए । त्यही गोलले पेपेलाई विश्वकपको इतिहासमा सबैभन्दा जेठा गोलकर्ता खेलाडी बनायो ।

३९ वर्ष उमेर पुगेका सबैजसो खेलाडीले फुटबलबाटै सन्यास लिइसकेका हुन्छन् । यो उमेरमा विरलै मात्र खेलाडी मैदानमा हुन्छन् । तर, पेपे यो उमेरमा पनि राष्ट्रिय टोलीका साथमा विश्वकप खेल्दै गोल समेत गरेर रेकर्ड नै बनाइरहेका छन् ।

पेपेको रेकर्डबारे फिफाले पनि आफ्नो वेबसाइटमा चर्चा गरेको छ । सन् २००७ बाट पोर्चुगलका लागि खेल्न थालेका पेपेले देशका लागि हालसम्म १३२ खेल खेलेका छन् । सो दौरान उनले ८ गोल गरेका छन् ।

पेपे अहिले क्लब फुटबलमा देशकै क्लब पोर्टोबाट खेलिरहेका छन् । उनले पोर्चुगलका लागि १६ वर्षदेखि खेल्दै आएका छन् । पेपेका लागि यो अन्तिम विश्वकप र अन्तिम अन्तर्राष्ट्रिया प्रतियोगिता रहेकोमा शंका छैन ।

तर, उनले अन्तिम विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, ३९ वर्षको उमेरमा पनि । यदि पोर्चुगलले विश्वकपको उपाधि समेत जित्न सके यो उनका लागि झनै मिठो हुनेछ ।फुटबल खबर

२०७९ मंसिर २१, बुधबार प्रकाशित 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।