२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बधाई ! पिएसजी अलनासर विरुद्ध भएको खेलमा रोनाल्डो बने म्यान अफ द म्याच !

जनवरी २०, एजेन्सी : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) वि-रुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिए ।

रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । पिएसजीले आफ्नो बलियो टोली उतार्दै लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा खेलाएको थियो ।

रोनाल्डोसँगै मेस्सी, नेयमार र एमबाप्पे ६० मिनेटमा परिवर्तन भएका थिए । पिएसजीले १० खेलाडीमा सिमित भएपनि ५-४ को जित हासिल गरेको थियो । पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे ।

रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् । खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए ।

रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडीको बाबजुद पिएसजीले अग्रता लिएको थियो । इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुक्दा अर्कोतर्फ रोनाल्डोले गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा राखे ।

दोस्रो हाफको सुरुवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो । तर दुई मिनेटमा नै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेल पुन: बराबरी गरे । तर बराबरी भएको दुई मिनेटपछि नै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए ।

स्टार खेलाडीहरु विश्राममा गएपछि मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा रियादले गोल गरेपनि खेलमा फर्कन निकै ढिलो भइसकेको थियो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे ।

मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे ।

२०७९ माघ ६, शुक्रबार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।