
बिनिता तिमिल्सिना – झापा : पाथीभरा मन्दिर इलाम जिल्लामा अबस्थित एक पवित्र तीर्थस्थल हो । यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै झन्डै 60 कि.मि को दुरि पार गरेपछि पुग्न सकिन्छ ।
मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ । शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि.मी.को ठाडो उकालोमा
सिडी बनाएर मन्दिर परिसर सम्म पुग्ने व्यवस्था गरिएको छ ।
वि.स. २०५१ सालमा मन्दिर स्थापना भएको यस मन्दिर नजीकै रहेका दुइवटा पोखरी छेउ हाँसको आकृति भएका ढुंगाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ ।
मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन् । जिल्लाको दक्षिणपूर्वी गाविस कोल्बुङ्ग–२, कुटिडाँडादेखि करीब ८०० मिटर माथिको डाँडामा यो
मन्दिर रहेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ।
मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा
ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ। यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ। यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा
मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ।ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ।