
माघ ८, काठमाण्डौ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिनुभएको छ ।
एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने तर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही हुन्छ, रौतहट काठमाण्डौ सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो ।
मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् । गएकाे चुनावमा एकीकृत समाजवादीका केही नेताले र कार्यकर्ताले फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको छ ।
कतिपयले प्रत्यक्षमा कलम चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालले बताउनु भयो । कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरु पनि भोट हाल्न पुगेका थिएनन् ।
त्यस्ता नेता र कार्यकर्ताको लगत संकलन एकीकृत समाजवादीले गरिरहेको पनि उहाँले बताउनुभयाे । शनिवार पार्टी कार्यालय आलोकनगरमा सम्पर्क मञ्चका नेता कार्यकर्तालाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभयो ।
अब पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने बताउनुभयो । एकीकृत समाजवादीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरु लागेको जानकारी पनि दिनुभयो ।
अध्यक्ष नेपालले पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयाे, ‘सपनाको लागि प्रयासरहित निन्द्रा चाहिन्छ, तर लक्ष्यका लागि निन्द्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।