२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

दक्षिण कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी !

पुस १२, कास्की : पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

४६ वर्षीय उहाँले गाउँमै कोइला उद्योग सञ्चालन गर्नुभएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रूपमा उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो । कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु, पुनले भन्नुभयो ।

२०७५ मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । जग्गा मेरै थियो त्यही दुई वटा भट्टी बनाएर काम सुरु गरेँ उहाँले बताउनुभयो बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।

गएको वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उहाँ बताउनुहुन्छ । कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो’। पुनले जोड दिनुभयो, तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो, गएको वैशाखदेखि भने राम्रै भएको छ ।

पछिल्लो समय उहाँले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय कोइला बेचेर मात्रै उहाँले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ भने तीन जनालाई रोजगारीसमेत दिनुभएको छ ।

मकमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढी बचत हुन्छ’ पुनले भन्नुभयो । उहाँको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् ।

विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताउनुभयो ।

गाउँमा उद्योग चल्नु गौरवको कुरा हो, जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ’ उहाँले भन्नुभयो यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।

गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताउनुभयो । दुई वटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाण्डौलगायत अन्य सहरमा निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो ।

विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ पुनले भन्नुभयो बजारको कुनै समस्या छैन, पछिल्लो समय त माग धान्नै गाह्रो छ । बजारको माग धान्नका लागि अझै तीन वटा भट्टी थप्ने उहाँको योजना छ ।

पाँच वटा भट्टीको कोइला बिक्रीबाट मासिक एक लाखभन्दा बढी रकम बचत गर्ने उहाँको उद्देश्य छ । कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरूलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको उहाँले बताउनुभयो ।

२०७९ पुष १२, मंगलवार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।