२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

काठमाण्डौ बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम गन्तव्य देशमा जान कति सहज ?

मंसिर २४, काठमाडौ : एक महिना पहिले दाङका बलराम थारु वैदेशिक रोजगारीमा कुवेत जानुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जानुभएका उहाँलाई त्यहाँ पुगेपछि मात्र

थाहा भयो आफ्नै घर नजिकको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विभानस्थलबाटै पनि कुवेत जान मिल्ने रहेछ । तर उहाँ भने भैरहवाबाट थप झण्डै तीन सय किलोमिटर लामो यात्रा गर्दै काठमाण्डौ आउनुभयो र जहाज चढ्नुभयो ।

पछिल्लो समय सरकारले प्रदेश स्तरमा सेवा विस्तार गरिसक्यौँ भनेको छ । अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको गौतमबुद्ध र अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको पोखरा विमानस्थललाई लक्षित गर्दै यी दुवै ठाउँमा रहेका श्रम कार्यालयबाट श्रम सम्बन्धी सबै कामको अधिकार दिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले पनि गण्डकी र लुम्बिनी लगायत आसपासका क्षेत्रबाट अब श्रमिक काठमाण्डौसम्म आउनु पर्ने बाध्यताको अन्त्य भएको दाबी गर्छ ।

तर पूर्वाधार नहुँदा वैदेशिक रोजगारीमा जानको लागि श्रमिक अझै पनि त्रिभुवन विमानस्थलकै भर परेका छन् ।
बलरामले वैदेशिक रोजगारीमा जाने सोचेपछि त्यसको लागि आवश्यक राष्ट्रिय परिचयपत्र दाङमै बनाउनुभयो । त्यसपछि फेरि चाँडो हुन्छ भनेर पासपोर्ट बनाउन काठमाण्डौ आउनुभयो ।

त्यहीबेला काठमाण्डौमा म्यानपावरहरु चाहार्नुभयो । एउटा म्यानपावरले ८५ हजार रुपैयाँमा (सेवा सुल्क १० हजार बाहेक फ्री भिसा फ्री टिकेट भनिए पनि म्यानपावर व्यवसायीले ठूलो रकम लिने गरेका) कुवेत पुर्‍याउने र एक हप्तामै भिसा लगाइदिन्छौँ भनेपछि उहाँ पासपोर्ट बुझाएर पैसाको जोहो गर्न र घरपरिवारसँग बिदा लिन दाङ फर्किनुभयो ।

तीन हप्तापछि भिसा लाग्यो । चाँडो काठमाण्डौ आउनु भनेपछि उहाँलगायत अरु चार जना (कोही बारा कोही चितवनबाट) काठमाण्डौ पुग्नुभयो । त्यसको तीन दिनपछि कुवेतको लागि जहाज चढ्नुभयो ।

‘राम्रो त हुन्थ्यो नि भैरहवाबाटै उड्न पाए त, तर म्यानपावरले हामीलाई काठमाण्डौमै बोलाएर किन पठायो त ?’ बलरामलाई थाहा छैन, भैरहवामै विमानस्थल भएर पनि म्यानपारले किन त्यहाँबाट पठाएन र काठमाण्डौमै बोलाएर उडायो भन्नेबारे । तर उहाँ उज्यालोको फेसबुक पेजमा प्रश्न गर्दै लेख्नुहुन्छ, ‘सरकारले भनेअनुसार नागरिकलाई सजिलो किन हुँदैन हँ ?’

किन छैन भनेजस्तो सजिलो ?

गएको जेठदेखि भैरहवा विमानस्थलबाट नेपालीहरुको श्रम गन्तव्य देश कुवेतमा जजिरा एअरवेजले उडान शुरु गर्‍याे । अहिले यसले हप्तामा तीन वटा उडान गर्छ । यस्तैै हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरमा चार्टड उडान गर्दै आएको छ ।

जजिरा एअरलाइन्सबाट यूएई र साउदी लगायत अरु खाडी देशमा पनि जान सक्छन्, ट्रान्जिट पारेर । बिस्तारै अरु एअरलाइन्सले पनि नेपाली श्रम गन्तव्य देशहरुमा उडान सुरु गर्ने तयारी गरेका छन् । तर गौतम बुद्ध विमानस्थल हुँदा हुँदै त्यही श्रम गन्तव्य देशमा जान त्रिभुवन विमानस्थलको भर किन पर्छन् म्यानपावर व्यवसायी ?

आखिर कुवेतको जजिरा एअरलाइन्सले भैरहवाबाट पनि उडान गरिरहँदा काठमाण्डौबाटै जानुपर्ने बाध्यता किन आउँछ ? वैदेशिक रोजगार व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ भन्नुहुन्छ, सिस्टम भएन, टेक्निकल समस्याहरु छन् ।

उहाँका अनुसार श्रमिक व्यक्तिगत रुपमा जाँदा वा बिदामा आउँदा तथा आएर फर्किनको लागि भैरहवा विमानस्थलबाट सजिलो भए पनि म्यानपावरमार्फत नयाँ जानेहरुलाई भने भनेजस्तो सजिलो छैन । म्यानपावरले प्रक्रिया पुर्याएर पठाउनको लागि आवश्यक सबै पूर्वाधार काठमाण्डौ केन्द्रित नै छन् ।

साउदी, बहराइन र ओमन जाने श्रमिकको मेडिकल लगभग काठमाण्डौमा मात्रै केन्द्रित रहेको उहाँ बताउनुहुन्छ । कतार जान बायोमेट्रिक गर्न काठमाण्डौमा रहेको कतार भिसा सेन्टरमा आउनुपर्छ । यस्तै, मलेसियाको लागि आवश्यक बायोमेट्रिक पनि जहाँ पायो त्यहीँ हुँदैन ।

त्यसको लागि मलेसियाली स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गरी मलेसियाको बायो मेडिकल सिस्टममा आबद्ध करिब एक दर्जन जति मेडिकल काठमाण्डौमै सीमित छन् । यस्तै अभिमूखिकरण तालिम कक्षा पनि काठमाण्डौमै केन्द्रित छन् ।

गुरुङ भन्नुहुन्छ, यस्तोमा बायोमेट्रिक, कतार भिसा सेन्टर त्यो क्षेत्रमा लैजानको लागि पनि नेपालले चाहेर मात्रै हुँदैन । यो विषय गन्तव्य देशसँग पनि जोडिएकाले त्यो देशको सरकारले पनि स्वीकृति दिनुपर्यो ।

यदि यो समस्याको हल भए पनि अर्को प्राविधिक समस्या छ । कुनै पनि कम्पनीले सय जना श्रमिक माग गर्यो, जुन श्रमिक अहिलेसम्म देशका सबै ठाउँबाट काठमाण्डौमा आउँथे र यहीँबाट अन्तर्वार्ता दिएर वैदेशिक रोजगारीमा जान्थे । ती सबै श्रमिक बुटवल र पोखरा आसपासका क्षेत्रबाटै मात्र परिपूर्ति नहुन सक्छन् ।

काठमाण्डौ नजिकैको नुवाकोट, काभे्र र पूर्वको खोटाङ वा सुदूरपश्चिमबाट पनि आउनुपर्ने हुनसक्छ । कसैलाई काठमाण्डौ सजिलो पर्ला कसैलाई बुटवल वा पोखरा । तर म्यानपावरले त सँगै पठाउनुपर्छ । त्यसो हुँदा श्रमिकलाई उनीहरुको सहजताअनुसार बाँँड्न सक्दैन । बाध्य भएर काठमाण्डौमै बोलाउनुपर्छ ।

हामीहरुले त यहाँबाट लटअनुसार पठाउनुपर्छ, त्यहीअनुसार रोजगारदाताले उताबाट तयारी गरेको हुन्छ, यहाँ हामीले श्रमिकलाई उनीहरुकै सहजताअनुसार पठाउँ भन्दा उता रोजगारदातासँगको तालमेल मिल्दैन, गुरुङ भन्नुहुन्छ, ‘व्यवसायीले मात्रै यो कुरा मिलाउन सकिरहेको छैन, र्याङको ठ्याङ मिलाउँदा धेरै समस्या हुन्छ ।

यस्तै गौतम बुद्ध विमानस्थललाई प्रबद्र्धन गर्न विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउण्ड ह्यान्डलिङलगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ । तर म्यानपावर व्यवसायीले त्यो रकम पनि श्रमिकबाट लिने र काठमाण्डौमा रहेका श्रमिकलाई पनि भैरहवा पठाएर उडाउने गरेको आरोप पनि लाग्ने गरेको छ । तर यस विषयमा गुरुङ अस्वीकार गर्नुहुन्छ । भन्नुहुन्छ, ‘२–४ हजार फाइदाको लागि म्यानपावरले आफूलाई दुःख हुने कुरा किन गर्लान् ?’

अन्य पूर्वाधारका समस्या

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले तराई र मधेश क्षेत्रका श्रमिक मात्र नभएर पूर्वदेखि सुदूरपश्चिमका श्रमिकलाई गन्तव्य देशमा जान सजिलो हुने आशा गरिएको छ । तर रातको समयमा वा बिहानै उडान भएकाहरुलाई भने विमानस्थलमा पुग्न निकै समस्या हुन्छ ।

यातायातको असुविधा र भैरहवामा रहेका होटलको महंगीको मार खेप्न सक्दैनन् पसिना बेचेर धन कमाउन जानेहरु । भैरहवामा होटल नभएका होइनन् तर सस्ता होटल नहुँदा श्रमिक त्यहाँबाट २५ किलोमिटरको दुरीमा रहेको बुटवलमा बस्न बाध्य हुन्छन् ।

राति त्यहाँबाट विमानस्थलसम्म आउन सार्वजनिक गाडी नपाइने र टयाक्सीमा जाँदा निकै महँगो पर्ने गुनासो श्रमिकहरु गर्छन् । यस्तै गन्तव्य देशबाट फर्किँदा पनि मध्यरातमा विमानस्थलमा ओर्लिए कहाँ जाने भन्ने चिन्ताले सताउँछ । अनि अध्यागमनको ढिलासुस्ती र कर्मचारीको व्यवहारले सताउने गरेको गुनासो श्रमिकले गर्ने गरेका छन् ।

२०७९ मंसिर २४, शनिबार प्रकाशित 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।