२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विश्वसँग जोड्दै !

मंसिर १६, काठमाण्डौ : पर्यटकीय नगरी पोखरा (कास्की) मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि देशको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।

सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न देशको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाण्डौ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्न सक्नेछन् ।

यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यवसायीको भनाइ छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजकसमेत रहनुभएका होटल एसोसिएशन नेपाल

(हान) का पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु देशको पर्यटन क्षेत्रका लागि सुखद विषय भएको बताउनुभयो ।

विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ, उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो भूपरिवेष्ठित देशलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो । उहाँले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

पश्चिमाञ्चल होटल व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

देशको अर्थतन्त्रका सूचकाङ्क राम्रो नभएको अवस्थामा विमानस्थल निर्माण हुनु निकै राम्रो हो, उहाँले भन्नुभयो, ‘विमानस्थल निर्माणले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।

पौडेलले नयाँ विमानस्थल निर्माण भएपछि रात्रिकालीन हवाई उडान पनि हुने र यसले आन्तरिक पर्यटक पनि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन विकासमा ‘टर्निङ प्वाइन्ट’ बन्नसक्ने उहाँको भनाइ छ ।

हानका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटनको विकासमा नयाँ आयाम थपिने बताउनुभयो । विमानस्थल सञ्चालनमा आएपछि पर्यटन विकासमा नयाँ आयाम थपिनेछ, उहाँले भन्नुभयो, ‘विमानस्थल निर्माण भएपछि पोखरामा भारतीय पर्यटक उल्लेख्य सङ्ख्यामा बढ्नेछन् ।

अहिले काठमाण्डौ ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गरेको व्यवसायीको भनाइ छ । नेपाल आएकामध्ये झन्डै ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको तथ्याङ्क छ । यीमध्ये ४० देखि ४५ प्रतिशत पोखरा पुग्छन् । यसरी पोखरा नेपालको दोस्रो पर्यटन गन्तव्य रही आएको छ ।

नेपाल पयर्टन बोर्डको तथ्याङ्कअनुसार पछिल्लो १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो ।

त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।

पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनमा आइसकेको छ । यो विमानस्थल सञ्चालनमा आएको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । क्यानले आउँदो पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।