२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बाट मङ्सिर १४ मा यान्त्रिक उडान हुने !

कात्तिक २६, काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मङ्सिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ ।

जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताउनुभयो ।

जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ, तर उडान सङ्ख्या तत्कालका लागि सीमित हुनेछ, उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो ।

एरो थाईको जहाजबाट यान्त्रिक उडान

यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ ।

उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको चेकजाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । उहाँका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ ।

सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।

चराविज्ञले छोटो रिसर्च गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताउनुभयो ।

विमानस्थल नजिकै ‘डम्पिङ साइट’ र चरा बासस्थानबारे विज्ञहरुबाट ‘असिसमेन्ट अडिट’ गरी साँझ परेपछि सञ्चालन गर्ने वा उपयुक्त वातावरणमा सञ्चालन गर्ने निर्णय हुनेछ । चराचुरुङ्गीको गतिविधि कम हुने मौसममा विमानस्थलमा उडान गरिनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवद्र्धधन गर्ने सरकारी लक्ष्य छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ ।

सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड-१९ महामारी लगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ ।

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।