२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

नेपालका अनुसन्धानकर्ता रास्कोटिले पत्ता लगाए संसारमै अभिलेख नभएको वनस्पति !

कात्तिक १५, काठमाडौँ : नेपालका एक जना वनस्पति अनुसन्धानकर्ताले विज्ञानकै लागि नयाँ प्रजातिको वनस्पति पत्ता लगाएका छन् । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा संसारकै लागि नयाँ रहेको पत्ता लगाएका हुन् ।

यससम्बन्धी विस्तृत विवरण अघिल्लो महिना प्रकाशित प्लस वान जर्नलमा उल्लेख छ । ५७ पुष्ठ लामो उक्त अनुसन्धानात्मक आलेखमा यो वनस्पतिको बारेमा विस्तृत विवरण राखिएको छ । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्यांकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले कान्तिपुरलाई बताए । गण्डकी प्रदेशको म्याग्दी जिल्लाको मोरेनी क्षेत्रमा २८ सयदेखि २९ सय मिटरको उचाइमा यो वनस्पति उनले सन् २०११को अगस्ट २५मा फेला पारेका थिए ।

अनुसन्धानकर्ता भक्तबहादुर रास्कोटीले विज्ञानकै लागि पहिलो पटक अभिलेख गरेको तिउरी प्रजातिको निम्सपुर्जेए वनस्पति ।
हेर्दा अन्य प्रजातिभन्दा केही भिन्न देखिएपछि उनले अध्ययनका लागि यसका नमुनाहरु संकलन गरेर राष्ट्रिय हर्बेरियम प्रयोगशाला र त्रिवि हर्बेरियम विभागमा अभिलेखका लागि राखेका थिए ।

यो बिरुवाको विश्वमै पहिलोपटक अभिलेख भएकाले यसको अन्य अवस्थाबारे विस्तृत अध्ययन भएको छैन । मोलिक्युलर अध्ययन तथा अन्य विस्तृत विवरणसहितको अध्ययन गर्दा प्रजातिको अभिलेखमा धेरै वर्ष लागेको उनले बताए ।

यो प्रजाति इम्पेसियन्स हारी, इम्पेसियन्स रेडियटा, इम्पेटियन्स वालिचीसँग नजिक देखिएपनि भिन्न रहेको छ । यो वनस्पतिको डाँठबाट आउने फूलको संख्या ३ वटा मात्रै हुने, फराकिलो स्पर र फूलको पात(पेटल) रहेका जस्ता गुणबाट अन्यभन्दा फरक रहेको पाइएको हो ।

नेपालका लागि पहिलो पटक अभिलेख भएको एम्पेसिएन्स इन्फन्डिबुलरिस प्रजाति । यस्तै, यसको आनुवांशिक (फाइलोजेनी) अध्ययनमा न्यूक्लियर जिन र क्लोरोपास्टका दुई वटा जीनको विश्लेषण गर्दा फरक पाइएको थियो ।

विज्ञानका लागि नयाँ प्रजाति हुनका लागि वनस्पतिको फूलको बनावटमा कम्तीमा दुई वटा सोभन्दा बढी भिन्नता हुनुपर्ने र मोलुक्यूलर विवरण पनि फरक हुनुपर्ने अनुसन्धानकर्ताहरु बताउछन् । रास्कोटी भन्छन्,‘न्यू टू साइन्स हुनका लागि कुनै न कुनै क्यारेक्टरमा फूलको बनावट फरक हुनुपर्छ । ’

वनस्पतिहरुको वर्गीकरण र पहिचानमा तीनको फूल र डीएनए र बाहिरी आवरणलाई आधार मानेर गरिन्छ । विद्यावारिधी र पोस्टडकको अध्ययन पूरा गरेका अनुसन्धानकर्ता रास्कोटी फ्लोरा अफ नेपाल लेखनको अर्किडेसी समूह लेखनको योगदानकर्ता पनि हुन् ।

रास्कोटीले नेपालका लागि पहिलो पटक अभिलेख गरेको इम्पेसिएन्स सिक्किमेन्सिस प्रजाति । यसैबीच अनुसन्धानकर्ता रास्कोटीले नेपालका लागि थप ५ वटा तिउरी प्रजातिको अभिलेख पनि गरेका छन् । इम्पेसिएन्स ब्राचीसेन्ट्रा, इम्पेसिएन्स काटकर्ठी, इम्पेसिएन्स ज्ञामीई, एम्पेसिएन्स इन्फन्डिबुलरिस र इम्पेसिएन्स सिक्किमेन्सिस प्रजाति नेपालका लागि नयाँ अभिलेख भएका हुन् । यो सँगै नेपालमा तिउरीका अब ५७ वटा प्रजाति नेपालमा अभिलेख भएका छन् । यस्तै,तीमध्ये ८ वटा प्रजाति नेपालमा मात्रै पाइने उक्त अनुसन्धानमा उल्लेख छ ।

वनस्पति जगतको बाल्सामिनेसी परिवारभित्र इम्पेसियन्स जेनस(तिउरी) पर्छ । यो परिवारका दुई वटा जेनस भएपनि नेपालमा तिउरी प्रजातिहरुमात्रै पाइन्छन् । तिउरीलाई फुलको रुपमा रोप्ने तथा जडिबुटीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । सहरबजारमा यसका हाइब्रिडहरु पनि घरमा सजावटको रुपमा प्रयोग हुने गर्छ ।

नेपालको ८ सय मिटरदेखि माथि ४५ सय मिटर उचाइसम्म यो प्रजातिको अभिलेख भएको छ । फूलबारीमा प्रयोग हुने यो वनस्पति प्राय: सबै जंगल(वाइल्ड)मा पाइएको छ । यो प्रजाति विशेष गरेर घाँसे मैदानहरुमा पाइन्छ । प्राय: गरेर यिनीहरु ओसिलो ठाउँमा भेटिएका छन् ।कान्तिपुर मा खबर छ ।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।