२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

हिमालय एयरलाइन्सले भैरहवा बाट मलेसिया चार्टर उडान थाल्ने ! 

कात्तिक १५, काठमाडौँ : हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने भएको छ । कम्पनीले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–

क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।
चिनियाँ र यति एयरलायन्सको लगानी भएको हिमालय एयरलायन्सले बिहीबारदेखि भैरहवाबाट मेलेसिया उडान गर्ने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ८ वटा चार्टर उडानको अनुमति दिएको हो । हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि आज (मंगलबार) अनुमति मागेको थियो, प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने,उसलाई प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको छ ।

प्राधिकरणका अनुसार हिमालयले कात्तिक १७ गतेदेखि २४ गतेसम्म दैनिक एउटा उडान गर्नेछ । मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ ।

हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु लिएर पुन: मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।

प्राधिकरणले नेपालका दुइटा अन्तर्राष्ट्रिय विमानस्थललाई जोडेर एउटा मिक्स उडान गर्न दिएको यो पहिलोपटक हो । भैरहवामा इन्जिनियरीङ बेस नभएकाले उस्को जहाज चौथो उडानमा काठमाडौं नै फर्किने छ ।

अहिले मलेसियामा आउजाउ गर्ने नेपालीहरूको संख्या वृद्धि भएकाले हामी भैरहवाबाट यो महिनाभर उडान गर्ने योजनामा छौं, हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने,यदी सरकारले भैरहवामा हामीलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङ दिएमा हामी उताबाट नियमित उडान गर्ने योजनामा छौं ।

प्राधिकरणले हाल हिमालयलाई काठमाडौंबाट सातामा १० वटा उडानको अनुमति दिएको छ भने नेपाल वायुसेवा निगमले सातामा ५ वटा उडानको अनुमति पाएको छ । प्राधिकरणसँग हिमालयले सातामा १४ वटा उडान मागेको थियो भने निगमले ७ वटा मागेको थियो ।

मलेसियाबाट दुईवटा विदेशी वायुसेवाले नेपालमा उडान अनुमति पाएका छन् । तर उनीहरूले श्रमिकभन्दा तेस्रो मुलुक जाने यात्रुलाई प्राथमिकता दिएकाले हिमालयले ‘कनेक्टिङ’ उडान भएका यात्रुलाई नभई एउटा बिन्दुबाट अर्को बिन्दुसम्म मात्रै जाने ‘प्वाइन्ट–टु–प्वाइन्ट’ यात्रुलाई प्राथमिकता दिँदै मलेसिया उडानका लागि भैरहवाबाट पनि थालेको हो ।

उसले भैरहवाबाट उड्ने वा अवतरण गर्ने यात्रुलाई बस सेवा पनि दिने भएको छ । काठमाडौंबाट उड्न नपाएका यात्रुलाई बसमा भैरहवा लैजान्छौं, भैरहवामा अवतरण भएका काठमाडौं आसपासका यात्रुलाई त्यहाबाट काठमाडौंसम्म बसमै ल्याइदिने छौं, उपाध्यक्ष श्रेष्ठले भने ।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।