२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भन्छन् – मतपेटिका ढुवानीमा सकेसम्म सुरक्षा निकायको गाडी प्रयाेग नगराैँ ।

कात्तिक १, काठमाण्डाै : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको गाडी प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावबारे आज सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै अर्यालले यस्तो धारणा राख्नुभएको हो ।

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको गाडीमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको गाडी प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चुनावमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । चुनावमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, चुनावमा कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सुरक्षा निकायलाई त्यहीअनुसार परिचालन गर्नुहोला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको गाडी प्रयोग नगर्ने भन्ने छ ।

त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुन सक्छ । तर चुनाव हार्नेले सुरक्षा निकायकाे गाडीमा मतपत्र ढुवानी गर्दा आफूले हारेकाे भन्न सक्छन् । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको गाडी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ ।

बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले चुनावकाे मौन अवधिमा शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 0 Minutes 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।