
असोज २३, काठमाडौं : स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको छ ।
अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको छ ।
चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यता, माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए ।
रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । रुपन्देही–१ मा घनश्याम भूसालालाई छोड्ने भएपछि घर्तीलाई काठमाडौंबाट उठाइने भएको हो ।