
भदौ ६, चितवन : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र (दिन–रात) खटिरहेको बताउनुभएको छ ।
आइतवार भरतपुर १७ मा रहेकाे धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको नागरिककाे मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो ।
मेयर दाहालले विगत पाँच वर्षमा पूरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै नागरिककाे इच्छा र चाहनालाई सम्बोधन गर्दै अबको पाँच वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भरतपुरलाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सु–संस्कृति सहरका रूपमा परिचित हुने क्रममा रहेको उहाँकाे भनाइ थियाे ।
भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताउनुभयो ।
भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ, उहाँले भन्नुभयो, जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ ।
महानगरवासीको इच्छा र चाहानाअनुसार विकासको कामलाई अगाडि बढाएको छौँ । धेरै काम गर्न बाँकी छ । पाँच वर्षमा धेरै काम गर्न सकिन्छ ।
सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब नागरिकलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो ।
सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्द्धन गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।
महानगरपालिकाले प्राथमिकताका आधारमा सबै क्षेत्रलाई हरेक
वर्ष बजेट विनियोजन गरी विकासको कामलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताउनुभयो । भरतपुरमा निर्माणधीन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयवासीले भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो ।