
साउन २६, काठमाडौं : महानगरपालिकाका मेयर बालेन्द्र साहले कानुन सबैका लागि बराबर हुने बताएका छन्। नर्भिक अस्पतालले सरकारी जग्गामा सम्झौता वीपरीत संरचना
बनाएको विषयलाई लिएर उनले यस्तो बताएका हुन्।
साहले सोमबार थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा प्रयोग गरिरहेको ८ आना सरकारी जग्गामा बनाइएको टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिएका थिए।
आज अस्पतालमा पुगेर साहले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ। सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनु पर्छ। नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो।
दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो। तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो।
बालेनले थप समयभित्र कानुनको पालना गर्दै त्यहाँ भएका अनाधिकृत संरचनाहरु हटाइदिन भन्दै अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट पछि नहट्ने समेत बताएका छन्।
नेपाल सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको भन्दै अस्पताललाई जग्गा हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर साह मंगलबार निर्देशन पालन भए नभएको हेर्न आँफै नर्भिक अस्पताल पुगेका थिए।