
साउन २८, काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई हराउन नसकिने ठानेर पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् ।
रायमाझीले भने, पाँच दलले नेकपा एमालेलाई एक्लै हराउन सकिँदैन भनेर गठबन्धन गरेका हुन् । आफ्नो अस्तित्व रक्षा र जसरी पनि चुनाव जितेर सत्तामा जानेबाहेक सोच उनीहरुको छैन ।
गठबन्धनको कक्टेल बनाएर उनीहरुले अस्तव्यस्त बनाएका छन् । कतै श्रीलंका त बन्दैन भन्नेतिर गएको छ ।समग्र राजनीतिक दल र राजनीतिप्रति वितृष्णा हुन थालेको छ । अब गठबन्धनले जित्ने हो मुलुक २० वर्ष पछि पर्छ ।
रायमाझीले आगामी निर्वाचनमा कुनै पनि दलसँग राष्ट्रिय स्तरमा सहकार्यको सम्भावना नरहेको पनि बताए । उनले थपे, हामी विकास र समृद्धिको एजेन्डा लिएर जनतामा जान्छौं ।
तर कुनै पार्टीले वार्तामा बसौं भने बस्दिनँ भन्न मिल्दैन ।
एमालेको वैचारिक, राजनीतिक र समृद्धिको एजेन्डा मान्ने हो भने सहकार्य गर्न सकिन्छ । साथै उनले राप्रपाले गणतन्त्र नमान्ने हो भने गठबन्धन गर्न गाह्रो हुने पनि औंल्याए ।