२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

अब नेपाल भित्रिने तयारीमा छन् यी ४ एयरलाइन्स, कहिलेदेखि हुन्छ उडान ?

साउन २४, काठमाडौ : कोरोना महामारीपछि नेपालमा उडान सुरू गर्न थुप्रै वायुसेवा कम्पनीहरूले चासो देखाएका छन्। केही कम्पनीहरू उडानका निम्ति प्रक्रियामा छन् भने कतिपयले उडानको समय (स्लट) लिइसकेका छन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल चार वटा वायुसेवा कम्पनी उडानको तयारीमा जुटेका छन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हंगेरीको वीज एयर, हङकङको क्याथे प्यासिफिक, थाइल्यान्डको थाइ एयर

एसिया र भारतको गो-एयर नेपाल आउने तयारीमा जुटेका हुन्। यीमध्ये गो-एयरबाहेक तीन वटाले प्राधिकरणबाट उडान स्लट समेत लिइसकेका छन्। हंगेरीको वीज एयरले नेपालमै पहिलो पटक उडान गर्न लागेको हो।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबर ३० बाट वीजले नियमित उडान सुरू गर्दैछ। हालका लागि वीजले आबुधावी–भैरहवा गन्तव्य बनाएर सातामा तीन उडान गर्ने गरी प्राधिकरणसँग अनुमति मागेको छ।

यसले एयरबसको ‘३२१ निओ’ सिरिजको विमान सञ्चालनमा ल्याउने तयारी गरेको छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलो पटक उडान गर्न लागेको सूचना अधिकारी भुलले सेतोपाटीलाई बताए।

हंगेरीको यो वायुसेवाले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि तयारी गरिरहेको छ, उनले भने।
त्यस्तै क्याथे प्यासिफिक एयरवेज हङकङ–काठमाडौं उडानको तयारीमा छ। क्याथे प्यासिफिकले आगामी असोज १५ गते (अक्टोबर १) बाट सातामा एउटा उडान सुरू गर्नेछ।

यसले रातको १०ः३५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न र रातको ११ः३५ बजे हङकङका लागि उडान भर्न अनुमति पाएको छ। क्याथे प्यासिफिकका लागि बिक्री प्रमुख जुनु मालेकुका अनुसार यो रुटमा ‘ए ३३०–३००’ सिरिजको जहाजले उडान गर्नेछ।

काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान लगायत गन्तव्य पुग्न नेपाली तथा नेपालमा रहेका विदेशी यात्रुलाई यो उडानले थप सहज बनाउने कम्पनीको भनाइ छ।

त्यस्तै आगामी अक्टोबरबाट थाइ एयर एसियाले काठमाडौं–बैंकक सिधा उडान सुरू गर्दैछ। प्राधिकरणले थाइ एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डको बैंकक उडान स्लट दिएको छ।

यो एयरलाइन्सलाई रातको १२ः३० बजे अवतरण र १ः३० बजे उडान गर्ने गरी गत बुधबार अनुमति दिइएको प्राधिकरणले जनाएको छ। को-भिडपछि वैदेशिक रोजगारीमा जाने नेपालीको चहलपहल बढेसँगै थाइ एयर एसियाले नेपालमा उडान तयारी सुरू गरेको हो।

यससँगै नेपाल उडान सुरू गर्न भारतको गो-एयरले पनि चासो देखाएको छ। गो एयरले नेपाल उडानका लागि प्राधिकरणमा केही कागजात बुझाइसकेको छ। थप प्रक्रिया बाँकी रहेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए। यसले पनि सबै प्रक्रिया पु-र्याए अनुमति पाउने सम्भावना धेरै छ।

चीनको सिचुआन एयरले पनि नेपाल उडान गर्न चासो देखाएको प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, एयर इन्डिया, इन्डिगो, भिस्तारा, फ्लाइ दुबई, एयर अरेबिया, सलाम एयरले नियमित उडान गरिरहेका छन्।

त्यस्तै टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, विमान बंगलादेश, कोरियन एयर, भुटान एयर, सिंगापुर एयरलाइन्स, मलेसियन एयरलाइन्स, बाटिक एयर, टर्किस एयरलाइन्स, श्रीलंकन एयरलाइन्स र भिस्तारा लगायत २५ वटा कम्पनीले नियमित उडान गरिरहेका छन्।

कोरोना महामारीअघि भने ३२ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे। कोरोनाका कारण बन्द भएका कतिपय उडान अहिलेसम्म खुलेका छैनन्। नेपालमा पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गरेको थाइ एयरवेजले नियमित उडान गर्थ्यो, भुलले भने, बैंकक–काठमाडौं सातामा सातै उडान गर्ने थाइको यात्रा कोरोना महामा’रीले अहिलेसम्म बन्दै गरेको छ।

त्यस्तै जेट एयरवेजले पनि पुनः उडान गर्न सकेको छैन। कोभिडअघि जेट एयरको दिल्लीबाट दुइटा, कलकत्ता र मुम्बईबाट एक/एक वटा गरी दैनिक चार वटासम्म उडान हुन्थ्यो। कम्पनीको आन्तरिक समस्याका कारण को’रोनाअघि नै बन्द भएको कम्पनीले अहिले नयाँ व्यवस्थापनसँगै पुनः उडानको तयारी थालेको उनले बताए।

हालसालै टिकट बुकिङको नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ, अब फेरि जेटले उडान सुरू गर्न सक्छ, उनले भने।
कोरोनाकै कारण बन्द भएको अर्को एयरलाइन्स हो ओमन एयर। ओमनको राष्ट्रिय ध्वजावाहक कम्पनी ओमन एयर मस्कट–काठमाडौं उडान हुन्थ्यो।

को-भिडअघि रोयल भुटान र भुटान एयरलाइन्सले नेपाललाई गन्तव्य बनाएर उडान गर्थे। भुटान-काठमाडौं उडान गर्ने भुटान एयरलाइन्सले को-भिडपछि पुनः उडान गर्न सकेको छैन। रोयल भुटानले कार्गो चार्टर्ड गरिरहे पनि तत्काल व्यावसायिक उडान गर्ने तयारी नभएको भुलले जानकारी दिए।

त्यसैगरी को-भिडअघि ६ वटा एयरलाइन्सले नेपाल–चीन उडान गर्थे। हाल नेपालबाट एउटा र चीनबाट एउटा एयरलाईन्सले मात्र उडान गरिरहेका छन्। चीनकाे एयर चाइनाले चीनको छेङ्दु–काठमाडौं र नेपालकाे हिमालय एयरलाइन्सले काठमाडौं–चोंगकिङलाई गन्तव्य बनाएर नियमित उडान गरिरहेका छन्। सेतोपाटीमा समाचार छ ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 654 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।