२०७९ माघ १९ बिहीबार
  • काठमाडौँ

नेपाली फुटबलर विमल राना अष्ट्रेलिया पलायन !

साउन २४, काठमाडौं : फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् ।

गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।
केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए ।

त्यसअघि आशिष लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन् । त्यसैमा विमल राना पनि थपिएका हुन् । विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

नेपाली फुटबलमा उमेर समूहले देखाएको संकेत

केही वर्ष अघिसम्म दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको बाहुल्यता उच्च थियो। १५ वर्षदेखि यु-२३ सम्मका प्रतियोगिता हुँदा खेलाडीको एक्सपोज अत्यधिक हुन्थ्यो। विस्तारै प्रतियोगितामा आएको सीमितताले उमेर समूहका प्रतियोगिता गाभिए र कम प्रतियोगिता हुन थाल्यो।

जसका कारण नेपाल जस्तो फुटबलमा प्रयोग बढी गर्ने र उमेर समूहमा बढी एक्सपोज प्रयोग गर्न रुचाउने देशलाई स्वभाविकरुपमा ‘ब्याक फुट’मा धकेल्यो। परिणामत: हाम्रो फुटबल ‘बेस’नै कमजोर बन्ने त होइन भन्ने प्रश्न सतहमा आएको छ।

अहिले भारतमा जारी यु-२० साफ च्याम्पियनसिपमा नेपालको सहभागितालाई निकै अर्थपूर्ण रुपमा लिइएको थियो।
उमेर समूहको प्रतियोगितामा सम्भवत: अहिले जति चर्चा भएको छ। त्यो नेपाली फुटबलका लागि राम्रो हो तर उमेर समूहमा हामी खस्किँदै गएको संकेतले दक्षिण एसियाली फुटबलमा नेपाल थप कमजोर रहेको मानक स्थापित हुने जोखिम बढेको छ।

एकातिर खेलाडी पलायनको समस्या विकराल बन्दै जाँदा छोटो तयारीमा खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गर्नु पर्ने चुनौती कायम रहँदा ट्यालेन्ट हन्ट हुन नसक्नु र स्कूल स्तरबाटै फुटबलप्रतिको चासो कम हुँदै जानुले दीर्घकालीन रुपमा नै समस्या पर्ने तर्फ एन्फा सचेत हुन जरुरी छ।

फुटबल राजनीतिले थला परेको घरेलु फुटबल उठ्न नसक्दा सिनियर स्तरमा नै खेलाडीहरु निराश छन्। ‘सिनियर’ स्तरमा नै छनोटको विकल्प कमजोर हुँदै गइरहेको अवस्थामा उमेर समूह बलियो नबन्ने हो भने दक्षिण एसियामा नेपाल थप कमजोर बन्दै जाने पक्का छ।

पछिल्लो पटक छोटो तयारीमा नै भुवनेश्वर पुगेको नेपाली यु-२० टोलीले जब माल्दिभ्स र श्रीलङ्काविरुद्ध प्रभावशाली जित निकाल्दै आफ्नो दबदबा देखायो त्यसको खुशी सञ्चार हुन समय लागेन तर जसरी माथि पुग्यो त्यसरी नै बजारिन पनि समय लागेन।

भारतसँग कुनै पनि स्तरको प्रतियोगितामा नेपालले इतिहासकै कुनैपनि उमेर समूहको सर्वाधिक फराकिलो ८-० को हार ब्यहोर्‍यो। जुन हार नै नेपाललाई फाइनलबाट बञ्चित बनाउन पर्याप्त बन्यो। यसले युवा टोलीको अवस्थालाई मैदानमा मात्र होइन मनोवैज्ञानिक रुपमा नै कमजोर बनायो। किनकि हामी जुनसुकै स्तरमा भारतलाई आफू भन्दा माथि राख्छौँ। साथै युवा टोली लक्षित घरेलु प्रतियोगिता विगत ४ वर्षदेखि ठप्प जस्तै देखिन्छ।

पछिल्लो पटक २०७६ सालमा यु-१८ ललित स्मृति फुटबल प्रतियोगिता पछि उमेर समूहमा नेपाल प्रतियोगिता विहीन छ। कोरोनाभाइरस सङ्क्रमणको बहानामा समग्र खेलकुद नै करिब दुई वर्ष ‘कोमामा’ रहँदा उमेर समूहको फुटबल त्यो बहानाबाट स्वभाविक रुपमा प्रभा-वित बन्यो।

संरचनागत रुपमा एन्फाले आफ्नो क्षमता प्राय: अधिकांश जिल्लामा विस्तार गरेको छ। प्रशिक्षकहरु पनि हरेक जिल्लामा एन्फाले व्यवस्था गरेको छ।

तर नतिजा शून्य भन्दा फरक पर्दैन। तर, समग्रमा यो पटकको युवा टोलीको अपेक्षाका रुपमा अनुभवी प्रशिक्षक मेघराज केसीलाई मानिएको थियो। तर, भारतविरुद्धको कमजोर मनोविज्ञान उनले पनि तोड्न सकेनन्।

जुन ‘जिंक’ नेपाली फुटबलमा बलियो गरी बसेको छ। अब त्यसलाई तोड्ने एउटै माध्यम भनेको बढीभन्दा बढी प्रतियोगिता र निरन्तर एक्सपोज नै हो। एक महिना अघि खेलाडी भेला गरेर दक्षिण एसियाली स्तरको प्रतियोगिता जित्ने सपना देख्न त पाइयो तर पूरा हुन भने अब असम्भव छ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।