
साउन २२, काठमाडौ : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इच्छा शक्तिले मात्र विकासका कार्यहरु हुने बताउनु भएको छ । शुक्रबार भरतपुर–२४ स्थित विहानी सामुहिक कृषि फार्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरन्तर
जनताको सेवामा जुट्ने जनप्रतिनिधिको इच्छा शक्ति भएमात्र विकासको कामहरु हुने उल्लेख गर्नुभयो । मेयर दाहालले जनप्रतिनिधि भईहालियो भनेर बसे कुनै पनि विकासले गतिले नलिने उहाँको भनाई थियो । चितवन जिल्लाले अहिले ६ जना मन्त्री पाएको छ ।
उहाँले भन्नुभयो, त्यस अनुसारको विकास भएको छ त? पद पाएर, मन्त्री भएर विकास हुने होईन । इच्छा शक्ति हुनु पर्छ । पहल कदमी हुनुपर्छ । मेयर दाहालले भरतपुर २४ मा प्रदेश स्तरीय कृषि र पशु प्रविधिकसहितको पशु पूर्वाधार सेवा केन्द्र निर्माण हुन लागेको जानकारी दिनुभयो ।
भरतपुर २४ लाई कृषिको पटक क्षेत्रको रुपमा विकास गर्न महानगरले प्रथामिकतामा राखेको मेयर दाहालको भनाई थियो ।
दाहालले भरतपुर–२४ मा रहेको विहानी सामूहिक कृषि फर्मको शुक्रबार उद्घाटन गर्नु भएको छ ।
२५ जना युवा कृषकहरुको लगानीमा फार्म सञ्चालनमा ल्याइएको हो । अहिले युवाहरुले ६० विगाहमा सामूहिक तरकारी खेती गरिरहेका छन् । गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ ।
विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यायन्न, एकिकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ । यस्तै महानगर प्रमुख दाहालले भरतपुर–२४ मा रहेको कृषि फर्महरुको निरीक्षण गर्नुभएको छ ।
पछिल्लो समय पश्चिम चितवनमा महानगरपालिकाले कृषकलाई बोरिङहरु वितरण गरेसँगै कृषि उत्पादन व्यवसायीकरण तर्फ उन्मुख भएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा कृषि उत्पादनलाई प्रथामिकतामा राखी कृषकहरुलाई प्रोत्सहान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ ।
मेयर दाहालले भरतपुर–२४ का पशु फर्म, तरकारी, फर्म र देवि स्थान पार्कको निरीक्षण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २४ का अध्यक्ष राम गोदारले भरतपुर २४ लाई कृषि पर्यटन क्षेत्रको रुपमा महानगरपालिका अगाडि बढाउनु पर्ने उल्लेख गर्नुभयो ।