
साउन २१, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीसँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टीसँग आउँदो मंसिर
४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकतासमेत नभएको दाबी गरे । शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६-६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे ।
लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए । उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए ।
यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन, उनले भने, आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ?
उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे । उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् ।
भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।
अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए ।
केही समय अघिसम्म ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उनी पश्चिम नेपालबाट संगठन विस्तार गर्दै पूर्वतर्फ आइरहेका छन् ।