
साउन २०, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।
मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला, उनले भने, मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।
मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।
अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।
असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।
निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयाेगले जनाएकाे छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् ।
आयोगका पदाधिकारीसँगको छलफल अघि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफल गरिसकेका थिए । त्यस क्रममा निर्वाचनको साइतको विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।
आयोगका पदाधिकारीसँगको छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह सचिवकै धारणामा सहमति जनाएका थिए ।
मंसिर २ शुक्रबार मुस्लिम समुदायको नमाज पढ्ने दिन हुनाले दुई दिन पछि सार्न उपयुक्त हुने उनीहरुको सुझाव थियो । प्रधानमन्त्री देउवाले पनि मिति घोषणाका क्रममा एक÷दुई दिन यताउता भए अन्यथा नलिन आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।