२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

खुशीको खबर ! नेपालबाट ५ हजार श्रमिक लैजान जापान तयार !

साउन १९, काठमाण्डौ : जापान सरकारले स्पेसि-फाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गराउने भएको छ ।

नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औप-चारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएको हो ।

सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र अनुसार जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोजगारी दिने विषयमा संयुक्त कार्य समितिको बैठक काठमाण्डौमा बसेको हो ।

बैठकमा जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन सरकारले कार्यविधि बनाउने विषयमा पनि छलफल भएको छ ।

यसका साथै बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नु पर्ने भएमा त्यसको तयारी गर्ने, नेपालमा जापनिज भाषा र सीप परीक्षामा उत्तीर्ण भएर तयारी

अवस्थामा रहेकाहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने विषयमा पनि नेपाल र जापानबीच छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठक श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी हुनुभएको थियो ।

जापानकोतर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्य प्रतिनिधिले भौतिक रूपमा र जापानका सम्बद्ध निकायमा अन्य प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए । नेपाल जापान संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना हुने मन्त्रालयले जनाएको छ ।

संयुक्त कार्यसमितिको बैठकपछि जापानका सहायक उपमन्त्री चोतुमो नाकागावाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेट गर्नुभएको छ । श्रम मन्त्रालयमा भएको भेटमा भाषा परीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।

मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनु भएको छ । उहाँले उपमन्त्री चोतुमोलाई नेपाली श्रमिकलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नसमेत अनुरोध गर्नु भएको छ ।

भेटमा उपमन्त्री चोतुमोले आजको बैठक नेपाली श्रमिक जापान लैजानका लागि सकारात्मक भएको बताउनुभएको छ । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले एसएसडब्लू मार्फत ५ हजार बढी नेपाली कामदार जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने समेत उल्लेख गर्नुभएको छ ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार