२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अब नेपालका पूर्व-प्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो ?

साउन २०, काठमाडौ : संविधान जारी नगरी पहिलो संविधानसभा अस्ताएपछि शून्यताले राज गर्दै गरेको बेला थियो। संविधान बनाउन नसकेको दोष अर्को दलमाथि थोपरिरहेका

नेताहरूले दोस्रो संविधानसभा चुनावका लागि खिलराज रेग्मी ल्याउन भने भव्य ‘राष्ट्रिय सहमति’ गरेका थिए। दलहरूले खिलराज ल्याए, खिलराजले लोकमान। दलहरूले एकपछि अर्को नगर्नुपर्ने गर्दै गए, गर्नुपर्ने गरेनन्।

यसरी शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक सबैथोकमा ‘मेलमिलाप’ गरेर कांग्रेस, एमाले, माओवादीले आफ्नो ऐतिहासिक अयोग्यता देखाएका बेला शम्भु थापासहित केही नागरिक अगुवाले दलहरूका मुख्यालय घेर्ने निधो गरेका थिए।

त्यसबेलाका क्रमशः तीन ठूला दलहरूमध्ये उनीहरू माओवादी, कांग्रेसका शीर्ष नेता भेट्न गए। त्यसपछि नागरिक टोली तत्कालीन तेस्रो ठूलो दल एमालेको मुख्यालय बल्खु हिंड्यो। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, ‘प्रभावशाली नेता’ केपी ओली उनीहरूलाई सुन्न अगाडि बसे।

थापाले स्वभावतः मुखैले माइकजत्रो आवाज निकाले, तपाईंहरूलाई हराउन लाग्नुपर्ने भो। हामीले कांग्रेस र माओवादीका नेतालाई पनि यो कुरा भनिसक्यौं। केवल एउटै आग्रह छः दुई–दुई ठाउँबाट चुनाव नलडिदिनुहोला। हामी त पेशाकर्मी मान्छे। हराउने प्रचारमा धेरै ठाउँ दौड्ने समय हामीसँग छैन।

शान्त सौम्य मानिने अध्यक्ष खनाल यति सुनिसक्दानसक्दै उठेर हिंडे। माधव नेपालको बानी पनि लोकको जानकारीमै छ। बाँकी रहे ओली। त्यसअघिको चुनावमा हार्ने नेतामध्ये उनी पनि त थिए। तर ओलीले भने बस्ने विचार गरे।

उनले थापालाई सोधे, हामीलाई नै किन हराउनुपर्ने ?’l यो माथिको प्रसंग २०७९ साउन ११ गते अनलाइनखबर मा प्रकाशित लेखमा बसन्त बस्नेतले लेखेका हुन्।

सो लेखमा त्यसपछि थापाले के जवाफ दिए भन्ने बारेमा लेखिएको छ। लेखमा भनिएको प्रसंगको सवालजवाफ भएको एक दशक नाघिसकेको छ। त्यतिबेलाका सक्रिय शम्भु थापाको हालको अवस्थाका बारेमा पङ्तिकार अनभिज्ञ छ। तर उस्तै उस्तै लाग्ने अभियान भने पुन: उठेको छ- पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्ने।

यद्यपि, थाहा पाउनुपर्ने कुरा के हो भने एक दशकअघि प्रभावशालीहरूलाई हराउने र अहिले पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्ने प्रसङ्ग उस्तै लाग्छन्। तर उस्तै होइनन्। प्रश्न सोध्नेहरू पनि उही व्यक्ति होइनन्, उही पुस्ता होइन। जवाफ दिनेहरू उही छन्, यो चैं दुर्भाग्यपूर्ण हो।

अहिले एक दशकपछि कसैले पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्नै पर्ने भो भनिरहँदा केपी ओलीसँग ‘हामीलाई नै किन हराउनुपर्ने ?’ भन्ने प्रश्न सायदै होला। आफू र आफ्ना समकालीन पूर्वप्रधानमन्त्रीहरूको देखाउने अनुहार, नदेखाउने छायाँ र गतिविधिहरूबाटै यस्तो प्रश्न गर्ने साहस समाप्त भैसकेको हुनुपर्छ। र, यही सन्दर्भ अरु समकालीन पूर्वप्रधानमन्त्रीको हकमा पनि हुबहु लागू हुन्छ।

त्योभन्दा पनि विशेषगरी अघिल्लो निर्वाचनदेखि यहाँसम्मको राजनीतिको साङ्गोपाङ्गो अध्ययनपछिको जवाफ यो अभियानले रोजेका शब्दहरू जति सम्मानित होलान् भन्नेमा मेरो शंका छ।

कुनै पनि नागरिकले कोभिड-१९ को कहर बढ्दै गर्दा आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका हाछ्यु, बेसार र हिमाली हावाका भाषणहरू कसरी बिर्सेलान् ? काठमाडौं छोड्न बिहान झिसमिसै पैदल नै सहर छोड्दै गरेका मानिसहरूका खुट्टा अहिले दुख्न छोडे भन्दैमा त्यो भुल्नुपर्ने होला र ?

खान नपाएर सडकमा नै नागरिकहरूले मृत्युवरण गरेकै समयमा यती, ओम्नीहरूले भरमार खाइरहेका समाचार कसैले बिर्सियो होला र ? सत्ताले जबरजस्ती सेलाइदिएको ७० करोडका काण्ड कसरी आम नागरिकको स्मरणबाट हराएको होला ? वाइड बडी र बालुवाटारका किस्सा जोकोहीले कसरी विस्मरण गर्न सक्ला ?

स्थायी सरकारका लागि दिएको मतलाई कसरी अपमान गरियो भन्ने विषयमा त ओली लगायत दाहाल, नेपाल, खनाल लगायतको पनि उत्तिकै भूमिका छ। पशुपतिनाथको जलहरीमा हराएको ११ किलो सुन होस् वा कोरोना नियन्त्रणमा बेरुजुमा गएको ६० अर्ब होस्, यी हरेक कुराले अघिल्लो सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीहरू अक्षम, गैरजिम्मेवार, अपारदर्शी र भ्रष्ट नै देखाउँछ।

त्यसैको निरन्तरता शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि दिइरहेको छ। देउवाको पहिलो, दोस्रो, तेस्रो र चौथो प्रधानमन्त्रीकाल बिर्सिए पनि यही पाँचौं कार्यकालले नै देखाइरहेको छ कि उनी राष्ट्रको कुरालाई कतिसम्म हचुवा र कुरूप रूपमा देखाउन सक्छन्।

युक्रेन र रसियाको विषयमा दौडिएर एकपक्षमा भोट हाल्दा असंलग्न राष्ट्रका रूपमा र श्रीलंका टाट उल्टिरहँदा सार्क राष्ट्रका रूपमा नेपालको वैदेशिक नीतिको कच्चापन ऐना जत्तिकै छर्लङ्ग छ।

यसैले युवा होइन, सक्षम र योग्य पात्रको खोजी हो। जो सक्षम छ राजनीतिक भाषाको युवा उही हो। लोकतान्त्रिक राजनीति अनन्त कालसम्मको लागि हुनुहुँदैन। यो राजप्रथा होइन। एमसीसी, एसपीपीको मुद्दालाई कचपल्ट्याएर हरेकले आफ्नो राजनीतिक रोटी सेक्न खोज्ने प्रवृत्तिको असर देशले लामै समय भोग्नुपर्ने हो कि भन्ने शंका छ। महिलाद्वेषी र राष्ट्रहित विपरित लादिएको नागरिकता संशोधन विधेयकको अन्तर्यमा कुन पार्टी अछुतो छ ?

मूर्खको परिभाषा दिंदै आइन्स्टाइनले एकफेर भनेका थिए– बारम्बार उही काम उस्तै तरिकाले गर्ने र त्यसबाट फरक नतिजाको आशा गर्ने मान्छेलाई मूर्ख भनिन्छ।
मैले यहाँ मूर्ख शब्दले अनुवाद गरेको भए पनि इन्स्यानिटीको खास अर्थ पागलपन अथवा होश नभएको भन्ने हुन्छ।

तर के नेपाली मतदाता पागल छन् ? दुर्बुद्धि छन् ? सही र गलत छुट्याउन नसक्ने गरी अक्षम छन् ? समग्रमा मूर्ख छन् ? अहँ छैनन्। यसको संकेत गत स्थानीय तहको निर्वाचनले देखाइसकेको छ। मानसिक रूपमा नेपाली जनमत ठिक हुँदैछ। मानसिक रूपमा नेपाली मतदाता जागरूक हुँदैछन्। त्यो जागरणको प्रतिशत कति हुनेछ आगामी निर्वाचनले पक्कै देखाउँला।

यतिका अवसर र समय पाउँदा पनि हाम्रा मूलधारका राजनीतिक नेताबाट अहिलेसम्म नगरेको कुन चैं कुरा अब हुन सक्छ भनेर अझै मौका दिइरहने ? उही चक्रमा घुमिरहेर झन् निकम्मा हुँदै गएको कति हेर्ने ? चक्र तोड्न कसैको स्वेच्छिक अवकाश वा मृत्यु पर्खिने कि बिदाबारी गर्ने ?

सबैले आफूलाई पनि गर्नुपर्ने प्रश्नहरू हुन् यी। अनि, यस्तो लापरवाह, व्यक्तिवादी, अपारदर्शी, गैरजिम्मेदार, अक्षमहरूलाई नेतृत्वबाट किन हटाउने भन्ने प्रश्नको होइन, कसरी नेतृत्वमा पुगेर के शक्तिले त्यहाँ त्यस्तरी बसिरहेका छन् भन्ने चैं अध्ययन र कौतूहलको विषय हुनुपर्ने हो।

वास्तवमा हराउने होइन, बिदाबारी गर्ने हो

विगतमा जे जस्तो मूर्ख्याईं गरेको भएतापनि नागरिकले अहिले परिवर्तन खोजेका छन् र स्थानीय चुनावमार्फत परिवर्तनको संकेत दिएका छन्। यो परिवर्तनलाई संस्थागत गर्न परिवर्तनप्रतिको सामाजिक र राजनीतिक इमानदारी, परिवर्तनलाई संस्थागत गर्न चाहिने सोच त्यसलाई कार्यान्वयनको तहमा अनुवाद गर्न सक्ने व्यवहारमा पनि आवश्यक छ।

सामाजिक सञ्जालमा सेयर भइरहेको तस्विरहरू जहाँ ६ जना पूर्वप्रधानमन्त्रीको कोलाज छ, त्यसमा उनीहरूलाई हराउने लेखिएको छैन। बरु लेखिएको छ, ‘जे जति गर्‍यौ, धन्यवाद। अब पालो अरु कसैको। ससम्मान बिदाबारी, निर्वाचन २०७९।’

हो, शाब्दिक रूपमा ससम्मान कि अरु केही भन्ने प्रसंगहरू पनि आएका छन् तर यो अभियानको मूल उद्देश्य गालीगलौज, बेइज्जती वा अपमानमूलक देखिएको छैन। यो संयमित, लोकतान्त्रिक र वैचारिक अभियान नै देखिन्छ।

यसैले कसैले पनि यो अभियानलाई काँचो राजनीति, आवेग वा भाइरल हुने मेलोका रूपमा मात्रै बुझ्नु हतारो हुन सक्छ। गालीगलौज र आवेगको राजनीतिको दिशानिर्देश हामीले सधैं भोगिरहेकै छौं र त्यो बाटोको गन्तव्य पनि पटक–पटक देखिसकेका छौं। यसपटक केही फरक भइरहेछ।

शब्दचयनहरू हेर्ने हो भने बिदाबारीका लागि चुनावसम्म पुग्नु बाध्यात्मक कदम हो भन्ने देखिन्छ। अभियानको उद्देश्य राजनीतिलाई नयाँ ढंगले अगाडि बढोस् भन्ने प्रतीत हुन्छ। यस्तोमा अब पुग्यो भनेर पूर्वप्रधानमन्त्री लगायत राजनीतिमा पटक–पटक परीक्षितहरूले अलग्गै बसिदिए बिदाबारी कार्यक्रम थप रोचक, उत्साहप्रद र सम्मानित बन्ने थियो।

तर यो विषयमा सबै सहमत हुँदैनन्। अझै पनि ठूलो संख्या छ, जसलाई यिनै नेताहरू नै चाहिएको छ। यही छहारीमा घाँस भएर आफू हुर्किनु छ, फैलिनु छ। व्यक्तिगत चिनजान, सम्बन्ध, सम्बन्धको लहरो, पार्टीप्रतिको आस्था लगायत

कुराहरूले पूर्वप्रधानमन्त्रीहरू धेरै मानिसका लागि अझै पनि गरिखाने आशा हुन सक्ला। तर तिनै अवसरपरस्त नागरिकका लागि पनि उनका नेताहरूको बिदाबारीको यो अवसर उत्सवमय हुनसकोस् भन्नेमा हेक्का राख्नुपर्छ।

जस्तो कि, मुम्बईमा गणेश चतुर्थी पछि भक्तहरूको लागि गणेशको मूर्तिको बिदाबारी उत्सवमय हुन्छ। जस्तो कि, स्कुले विद्यार्थीले सरस्वतीपूजा सकिएपछि मूर्तिको विन्यास उत्सवमय हुन्छ। यो बिदाबारी त्यस्तै उत्सवमय बनाउने अवसर अझै पनि छ।अन्लाईन खबर

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।