२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयर साम्पाङलाई पहिला भोट दिने, अहिले श्रम दिने धराने !

साउन ५, धरान : धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ‌ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।

उनीहरूले यसरी काम गर्न लागेको हप्ता होइन, महिना भइसक्यो। खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह

नगरी खोला बगरमा श्रम गरिरहेका भेटिन्छन्। श्रमदान गरिरहेकाहरू तिनै हुन् जसले हिजो साम्पाङलाई जिताउन सघाएका थिए। भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु प-र्यो नि, ५३ वर्षीया बागमती राईले भनिन्, छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेकी छु।

बोरामा बालुवा भरेर ओसार्दै गरेकी बागमतीले थपिन्, हामी पानी नपाएर दुःख पाएकाहरूको दुःख मेट्न मेयर लागेको बेला किन साथ नदिनु भनेर आएको हो।

धरानबाट उकालो लागेपछि एउटा घुम्ती आउँछ। त्यहाँबाट दुइटा बाटो छुट्टिन्छ। बायाँतिरको बाटो धनकुटा भेडेटारतिर उकालिन्छ, अर्को फुस्रेतिर। फुस्रेतिर अघि बढेपछि भेटिन्छ विपी पार्क। फुस्रे त्यही ठाउँ हो, जहाँ राणाहरूले विपी कोइरालाको जेल सरुवा गर्दा उनलाई एक रात बास बसाएका थिए।

त्यही सम्झनामा अहिले यहाँ विपीको पूर्णकदको शालिक राखिएको छ। विपीको शालिकलाई बायाँ पारेर बगेको छ, निशाने खोला। यही शालिकबाट करिब डेढ किलोमिटर उत्तर निशाने खोला बगरमा यसबेला दिनहुँ मान्छेको भीड छ।

चर्को घामले सताएका बेला पनि ५३ वर्षीया बागमती राई जसरी खटिनेहरूको ताँती धरानमा ठूलो छ। यहाँ पाकाहरू छन्, युवाहरू छन्। सबभन्दा धेरै अधबैंसेहरू छन्। उनीहरू कोही वैदेशिक रोजागारीबाट फर्केका हुन्। कोही गृहिणी हुन्। कोही विद्यार्थी त कोही काम खोज्दै भौतारिरहेकाहरू हुन्।

उनीहरूमध्ये धेरैसँग जीवनमा यसरी काम गरेको अनुभव छैन। तर, सबैजना लगावपूर्वक खोला बगरमा पसिना बगाइरहेका छन्। त्यो पनि स्वेच्छाले। धरानका मेयर हर्क साम्पाङको आह्वानमा एक महिनादेखि उस्तै उत्साह र लगनले मेहनत गरिरहेका उनीहरूको मक्सद एउटै छ, धरानको तिर्खा मेट्ने।

यस्तै काम उनीहरूले लगातार २७ दिनसम्म पकुवा खोलामा गरे। पकुवा खोलाबाट दैनिक पाँच लाख लिटर खानेपानी ट्यांकीमा थपियो। अहिले तीन इञ्चको पाइपबाट २४ घन्टा नै पकुवाको पानी धरानको खानेपानी आयोजनामा थपिएको छ। मेयरसहितका हजारौं धरानेको श्रमदानमा काम फत्ते भइसकेको छ।

२७ दिनमा पकुवा प्रोजेक्ट सकिएपछि अहिले उनीहरू ‘निशाने प्रोजेक्ट’ मा लागेका हुन्। एक महिनादेखि दिनहुँ खोला बगरमा श्रम गरिरहेका मध्येकै एक हुन्, धरान १ का अनुज भुजेल। महिना दिनयता उनको दैनिकी फेरिएको छ।

घरैमा ‘फ्रेस हाउस’ चलाएर पारिवारिक गर्जो टार्दै आएका उनी अरूबेला बिहान सबेरै उठेर कुखुरा भुत्ल्याउन थाल्थे। अहिले खोलामा खटिएका कारण थकान ज्यादा हुन्छ। त्यसैले उठाइ पनि ढिलै हुन्छ।

ढिलोढिलो उठेर खाना खाइसक्नासाथ उनका छिमेकीहरू गैंती, झम्पल र साबेल (बेल्चा) बोकेर बाटोमा जम्मा भइसकेका हुन्छन्। उनी पनि घाम छल्ने ‘ह्याट’ भिरेर काँधमा झम्पल बोक्छन् अनि लाग्छन् खोलातिर।

अब एक-डेढ महिना यसरी नै खटियो भने त तीन-चार ठाउँबाट धरानमा खानेपानी थप्न सकिने रहेछ, निशाने बगरमा ढुंगा पल्टाउँदै गरेका भुजेलले सेतोपाटीसँग भने, आफ्नो काम परिवारलाई जिम्मा लगाएर हामीचाहिँ यता खटेका छौं। घरमा पनि राम्रो काममा गएको भनेर सबैजना खुसी छन्।सेतो पाटी बाट

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।