२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अब देखि नेपाली किसान कृषि सिक्न कोरिया जान पाउने !

साउन ५, काठमाडौं : नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली

ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।

सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने

कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।

सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्यूनतम ८ घण्टा खेतीमा बिताउनु पर्नेछ । उक्त कार्यक्रममा नेपाली कृषकहरूलाई सहभागी गराउन पाउनु नेपाली कृषकका लागि

महत्वपूर्ण खुट्किलो साबित हुने सभापति सुमार्गीले बताए । यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने उनको भनाइ थियो ।

जीएमसीका मुनले ईपीएसबाट गएका नेपाली कामदारले गरेको कामबाट प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्र्याउन नेपाली कृषक लैजान आफूहरु तयार भएको बताएका थिए ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।