२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट हुन नपाएपछि म्याद थपियो !

असार ३२, पोखरा : भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोश्रोपटक म्याद थपिएको छ।

विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि म्याद थप्नुपरेको विमानस्थल आयोजनाले बताएको छ।

विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न नपाउँदा दोहो¥याएर म्याद थप्नुपरेको आयोजनाले बताएको छ।

जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याएको आयोजनाले बताएको छ। आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको छ।

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ। ‘सिएएमसीइ का लागि आगामि डिसेम्बरसम्मको म्याद थपिएको छ। यो दोश्रो पटक थपिएको समय हो, मुनकर्मीले भने, सिएएमसीइले भौतिक पूर्वाधारतर्फका काम त सकेको छ विमानस्थलको करिब ९८ प्रतिशत काम पुरा भएको छ।

तर, ‘क्यालिब्रेसन फ्लाइट’ हुन पाएको छैन। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। क्यालिब्रेसन फ्लाईट’ गर्न रिट्टेपानी डाँडा कटान हुनुपर्ने उनले बताए।
रिट्टेपानी डाँडा कटानका लागि बल्ल बाटो खुलेको छ। अब डाँडा कटान सुरु हुनेछ।

डाँडा कटान गरेर ‘क्यालिब्र्रेसन फ्लाइट’ गरेपछि बल्ल सिएएमसीइको काम सकिन्छ,’ मुनकर्मीले भने, ‘डाँडा कटान गर्न पाएको भए अहिलेसम्म क्यालिब्रेसन फ्लाइट भइसक्थ्यो।’ मुनकर्मीका अनुसार आगामि अक्टोवरमा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य छ। क्यालिब्रेसन फ्लाईट गर्न रिट्टेपानी डाँडा बाधक मानिएको थियो। यो आयोजनाको अघिल्लो जुलाई १० मा पहिलोपटक एकवर्ष म्याद थपिएको थियो।

को’रोना भाइ’रस संक्र-मण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थियो। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो।

क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै भएको उनले बताए।

आयोजना प्रमुख मुनकर्मीका अनुसार क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। डाँडा काटिएको भए क्यालिब्रेसन फ्लाइटका लागि बाटो खुल्थ्यो, अब डाँडा र रुख कटानका लागि तदारुकता देखाउनुपर्नेछ, उनले भने।

विमानस्थलको भौतिक पूर्वाधारतर्फको करिब ९८ प्रतिशत काम सकिएपनि डाँडा कटान, नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण यो विमानस्थलको मुख्य चूनौती मानिएको छ। डाँडा र त्यहाँका रुख कटानको लागि केहीदिन अघि मात्र हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच सहमति भएको थियो।

‘क्यालिब्रेसन फ्लाइट’ सकिएपछि चिनियाँ निर्माण कम्पनिसँगको काम सकिन्। अक्टोवरसम्म क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य हो,’ उनले भने, ‘क्यालिब्रेसन फ्लाइट पनि निर्माण कम्पनिकै जिम्मा भएकोले पनि डाँडा काटुन्जेल पर्खिनुपरेको हो।’

विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या हुने भएपछि डाँडा र त्यहाँका रुख कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। वन विभागसँगको सम्झौतापछि डाँडा सहित त्यहाँका ६ सय रुख कटानका लागि असार तेश्रो साता बाटो खुलेको थियो। डाँडाको उचाई १४ देखि ४० मिटर उचाईसम्म कटान गर्नुपर्ने हुन्छ। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।

प्राधिकरणले आगामि जनवरी एक देखि पोखराको यो विमानस्थल संचालनमा ल्याउने लक्ष्य राखेपनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्याण्डफिलसाइट स्थानान्तरण पनि आवश्यक रहेको प्राधिकरणका पदाधिकारीले बताउँदै आएका छन।

रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरपालिकाले फोहर बिर्सजन गर्दै आएको ल्याण्डफिलसाइट पनि अन्यत्र सानुपर्ने भएपनि त्यसको काम भने अझै सुरु भएको छैन। ल्याण्डफिलसाइटको फोहरका कारण चरा आकर्षित हँुदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरुले बताउँदै आएका छन् । ल्याण्डफिलसाइट सार्ने जिम्मा पोखरा महानगरको हो।

२०७९ असार ३२, शनिबार प्रकाशित 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।