२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

साउदी १० बर्ष काम गरेर आएका घिमिरे भन्छन् – मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन ।

असार ३१, म्याग्दी : साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ ।

उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ ।

तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नुभएको थियो ।

त्यहाँबाट फर्किएपछि साउदीअरब पुग्नुभएका घिमिरेले त्यहाँ १० वर्ष तरकारी खेतीको चौकीदारी गर्ने, एअरपोर्टको ग्यारेजमा काम गर्ने, कुखुरा का-ट्ने, गाई फर्म र कम्पनीमा समेत काम गर्नुभयो ।

विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि घिमिरेले त्यसलाई कृषि पेसामा लगाउनुभयो । कृषि पेसामा लाग्नुभएको झण्डै एक दशक हुन थाल्यो ।

अहिले उहाँले आफ्नो ८ रोपनीको जग्गामा व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएको छ । ३ रोपनीमा गोलभेँडा खेती गर्नुभएका घिमिरेले २ रोपनीमा काँक्रो र २ रोपनीमा हजारिया जातको केराको व्यावसायिक खेती गर्नुभएको छ । १ रोपनीको जग्गामा खुर्सानी, रामतोरिया र भन्टाको खेती गरेको उहाँले जानकारी दिनुभयो ।

घिमिरेले गोठमा एउटा दुधालु जर्सी गाई, एकएक वटा भैंसी र राँगो तथा २ वटा बाख्रा समेत पाल्नुभएको छ । ५ जना सदस्य रहेको घिमिरेको परिवारका अन्य सदस्यहरुले पनि तरकारी र फलफुल खेतीको उत्पादन तथा बिक्री वितरणमा सहयोग गर्दै आइरहेका छन् ।

कमला कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सञ्चालन गर्नुभएका घिमिरेले १८ फिट लम्बाई र १२ फिट चौडाइको २ वटा टनेलभित्र गोलभेँडा खेती लगाउनुभएको छ । गोलभेँडाको मात्रै ४ हजार बिरुवा लगाएको उहाँले बताउनुभयो ।

तरकारी र फलफुलबाट वार्षिक सात लाख आम्दानी
व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएका कृषक घिमिरेले एक वर्षमा सातलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो ।

वार्षिक सरदरमा डेढ लाख रुपैयाँ जतिको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, बारीमा काँक्रो, भन्टा, खुर्सानी र बारीको कान्ला र छेउछाउमा केरा खेती लगाएको बताउनुभयो । उहाँले गोलभेँडा बिक्रीबाट मात्रै सबैभन्दा धेरै चारलाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

यसैगरी केरा खेती र कागतीबाट वार्षिक दुईलाख आम्दानी हुन्छ भने बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा र सुन्तला बिक्रीबाट एकलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँले आम्दानीलाई घरखर्च चलाउन र केटाकेटीको पढाई खर्च जुटाउनमा प्रयोग गर्नुहुन्छ ।

केही रकम व्यावसायिक कृषि खेतीमा लगानी हुन्छ भने बचेको रकमलाई वित्तीय संघसंस्थामा बचत गर्छु’, उहाँले भन्नुहुन्छ, ‘राम्रोसँग ध्यान दिएर आफ्नै गाउँठाउँमा व्यावसायिक तरकारी, फलफुल र पशुपालन गर्नसके पैसा कमाउनकै लागि विदेश जानु पर्दैन ’

उहाँले आफ्नो फर्ममा उत्पादित तरकारी र फलफुल गाउँमै बिक्री गर्नुहुन्छ । सदरमुकाम बेनीबजार नजिकै भएकाले पनि उहाँलाई बेच्न सजिलो छ । उत्पादन गर्न सकेको खण्डमा अर्गानिक तरकारी र फलफुल खरिद गर्न ग्राहक फर्ममै पुग्ने गर्दछन् । उत्पादन गरेको तरकारी र फलफुलको बिक्री वितरण गर्नका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ ।

२०७९ असार ३१, शुक्रबार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।