
असार १६, धरान : धरानमा पैदल यात्रुको लागि राखिएको डस्टविनमा ब्यापारीहरुले फोहर जम्मा गर्न थालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ नियम बनाउने जनाएका छन् ।
अवलोकनको क्रममा सोमबार बजारमा हिँडेका मेयर साम्पाङले पैदल यात्रुको डस्टविन ब्यापारीको फोहरले भरिएको देखे । त्यसपछि एउटा फोटो खिचेर फेसबुकमा पोष्ट गर्दै अब प्रत्येक दोकानमा एउटा डस्टबिन लगाउने नियम लागु गरिनेछ भनेर लेखेका छन् ।
व्यापारीप्रति दुख व्यक्त गर्दै उनी लेख्छन् ‘करोडौँको व्यापार गर्ने व्यापारीहरुले एउटा डस्टबिन सम्म राख्न नसकेर पैदल यात्रुको लागि राखिदिएको डस्ट बिनमा यसरी दोकानको फोहोर ल्याएको यो दृश्य देखियो । अब प्रत्येक दोकानमा एउटा डस्टबिन लगाउने नियम लागु गरिनेछ ।’
उनले यात्रुको डस्टिविनमा फोहर जम्मा गरेर आफ्नो नैतिकता प्रदर्शन नगर्न पनि ब्यापारीलाई सुझाए ।उनले अन्य स्थानमा पनि ब्यापारीहरुले जथाभावि फोहर फाल्ने गरेको हुनाले अब
कडा नियम नबनाई नहुने स्थिति आएको बताए । आफू अनुगमनमा हिँड्ने र जथाभावि फोहर गरेको पाइए कारबाही गर्ने उनले जनाएका छन् । उसो त धरानमा मात्र होइन यो समस्या काठमाण्डौँ लगायत मुलुकका हरेक सहरमा देखिन्छ ।