
असार १३, काठमाडौं : नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष
पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे ।
नवनियुक्त चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा धेरै स्पीडमा हुने बताए । उनले भने,म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु।
यता, नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
शपथ ग्रहणपछि आज मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताउनुभयो । कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिनुभएको थियो ।
व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ, सबै जना विधिअनुसार चल्नुपर्छ, जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ, कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन, नियोजित रुपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन, उहाँले भन्नुभयो ।
सीमान्तकृत वर्गदेखि राष्ट्रपतिसम्मको आवास निर्माण गर्ने, सहरी विकास र सरकारी भवन निर्माणको जिम्मेवारी पाएको मन्त्रालयलाई सही दिशा दिने प्रतिबद्धता मन्त्री चौधरीको थियो ।
मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले आवास तथा बस्ती विकास, सरकारी भवन र सहरी विकासका क्षेत्रमा काम गर्ने गरी मन्त्रालय स्थापना भएको जानकारी गराउनुभयो । मन्त्रालयले सहरी विकास, बागमती सभ्यता संरक्षण ऐन २०७९ मस्यौदा गरी अघि बढाउने तयारी गरेको जानकारी पनि उहाँले गराउनुभएको थियो ।