२०८० फाल्गुन २१ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगार – कतारबाट श्रीमानको फोन नआएपछि आफै वैदेशिक रोजगारीमा !

असार १०, काठमाडौ : घरको आँगनमा बसेर एकोहोरो बाटो हेर्नुहुन्छ बिबी तामाङ । वैदेशिक रोजगारीमा कतार गएका आफ्ना श्रीमान् घर आउँदैछन् जस्तो लाग्छ उहाँलाई ।

श्रीमानसँग सम्पर्क हुन छाडेको वर्षौँ हुन थाल्यो । मोबाइलको घण्टी बज्दा पनि बिबी झस्किनुहुन्छ । हत्त-पत्त मोबाइल हेर्नुहुन्छ, कतै श्रीमानकै फोन हो कि भनेर । गाउँका कोही विदेशबाट घर आयो भने मेरो श्रीमान् किन आएनन् भन्ने

संशयले पनि सताइरहन्छ उहाँलाई । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ५ मा पर्छ बिबी तामाङको घर । १६ वर्षको उमेरमा २०६८ सालमा त्यही गाउँका आशाराम तामाङसँग उहाँको मागी बिहे भएको थियो ।

साधारण लेखपढ गर्नुभएका आशाराम घरको जेठो छोरा थिए । मिलनसार, इमान्दार आशाराम उत्तिकै परिश्रमी पनि थिए । बिहेसँगै परिवारको जिम्मेवारी थपियो आशारामको काँधमा ।

आशारामले बिबीलाई धेरै माया गर्नुहुन्थ्यो । दुबै जना मिलेर घरव्यवहार राम्रोसँग चलाउनुभएको थियो । जग्गा जमिन थोरै भए पनि खान नपुग थिएन । एक छोरा अनि एक छोरी जन्मिएपछि परिवारमा झन् खुशी छाएको थियो । तर २०७२ सालको भुक-म्पले आशारामको घर ढाल्यो ।

भुकम्पको डर हराएको थिएन । आशारामको दिदीबहिनीहरु सबैको विवाह भैसकेको थियो । जेठी दिदीको घर झापा । भुकम्पको डरले भाइ बुहारीलाई झापामा नै बस्न बोलाउनुभयो । बुवा, आमा र दुई भाइलाई हेलम्बुमै छोडेर आशारामको परिवार झापातिर लाग्यो ।

झापामा दिदीको सहयोगमा अरुको जग्गा भाडामा लिएर तरकारी खेती थाल्नुभयो । कमाई ठिकै थियो । परिवार पाल्न गाह्रो थिएन । यतिकैमा आशारामले विदेश जाने सोच बनाउनुभयो । भुक-म्पले ढलाएको घर उठाउन र बालबच्चाको भविष्य राम्रो बनाउनको लागि साउदी जाने निर्णय गर्नुभयो । ‘आफ्नो र बालबच्चाको ख्याल राख है’ भन्दै उनीहरुलाई झापामै छोडर २०७३ सालमा साउदी उड्नुभयो आशाराम ।
उता पुगेर उहाँले राम्रै काम पाउनुभयो । कमाई पनि ठिकै थियो । घरमा निरन्तर फोन गर्नुहुन्थ्यो । खर्च पनि पठाउनुहुन्थ्यो । हालखबर बुझिराख्नुहुन्थ्यो । यता बिबी बालबच्चा पनि हेर्ने र खेतिपाती पनि हेर्न भ्याउनुहुन्थ्यो । २ वर्षको करार अवधि सकेर आशाराम नेपाल फर्कनुभयो । १० महिनासम्म झापामै बसेपछि आफ्नै जन्मथलो हेलम्बु फर्कनुभयो । परिवारसँग खुशी साथ समय बित्दै थियो ।

एक दिन घाँस काट्न जाँदा आशारामका बुवा भिरबाट ल-डेर घा-इते हुनुभयो । घरको जेठो छोरो र कमाउने पनि भएकाले बुवाको सबै उपचार खर्च आशारामले नै बेहोर्नुभयो । उपचारमा साउदीमा कमाएको पैसा सकियो । अझै राम्रोसँग ठिक हुनुभएको छैन । घर बनाउने सपना त ज्युँका त्युँ नै रह्यो । अब घर बनाउनका लागि फेरि पनि विदेश जाने विचार गर्नुभयो । बच्चाहरुको पनि विद्यालय जाने उमेर हुन थाल्यो । अब पैसाको जोहो गर्नपुर्छ भन्ने सोचेर कतार जाने घरमा सल्लाह लिनुभयो । बिबीलाई पनि श्रीमानको सल्लाह ठिकै लाग्यो र श्रीमानको निर्णयलाई साथ दिनुभयो । २०७६ सालमा आशाराम फेरि वैदेशिक रोजगारीको लागि कतार उड्नुभयो ।

श्रीमानको कतार बसाइले बिबीलाई पी-डा

साउदीको जस्तो सन्तोषमय रहेन बिबीको लागि श्रीमान्को कतार बसाइ । सोचेभन्दा बिल्कुल फरक हुन गयो । कतार गएको शुरुका २–३ महिना आशारामले श्रीमती, बालबच्चालाई दिनहुँ फोन गर्ने, कुराकानी र माया प्रेमका कुरा भइरहन्थे । खर्च पनि पठाइरहनुहुन्थ्यो । उता श्रीमानले राम्रै काम गर्ने यता श्रीमतीले राम्रै घ-रव्यवहार चलाइराख्नुभएको थियो ।

एक दिन आशारामले बिबीलाई फोन गरेर कतारमा नै रहेको एक जना महिला साथीले ‘हामी बिहे गरेर बसौँ’ भनेर प्रस्ताव राखेको कुरा गर्नुभयो । त्यो कुरालाई बिबीले हाँसोमा नै उडाइदिनुभयो । ठट्टा गरेको भनेर वास्ता गर्नुभएन । उहाँलाई श्रीमानप्रति पूरा विश्वास थियो । पहिला पनि साउदी बसेर आउनुभएको श्रीमानले अहिले त्यस्तो कदम चाल्नुहुन्न भन्नेमा विश्वस्त हुनुहुन्थ्यो बिबी । तर आशारामको व्यवहार भने त्यसपछि बदलिँदै गयो । फोन आउने क्रम घट्दै गयो । दिनहुँ फोन गर्ने श्रीमानले अब हप्ता, १५ दिन हुँदै महिना दिनमा फोन गर्ने हुनुभयो । फोनमा पनि पहिलाको जस्तो मिठास गफ हुन छोड्यो । लामो कुरा पनि हुन छोड्यो । खर्च पठाउन पनि छोड्नुभयो । अब त फोन नआएको पनि ६ महिना कटिसक्यो । यताबाट गर्दा पनि फोन उठ्दैन । आशारामले बिबीको फोन नम्बरदेखि सामाजिक सञ्जालहरु समेत ब्लक गर्नुभएको छ । परिवारका अरु सदस्यहरुसँग पनि फोन गर्नुभएको छैन ।

अहिले बिबीको मनमा चिसो पसेको छ । कतिबेला श्रीमानले भनेजस्तै अर्को महिलासँग त बस्नुभएको छैन भन्ने शंकाले घेर्छ भने कतिबेला कतै समस्यामा पो पर्नुभयो कि भन्ने डर लाग्छ । उहाँ भन्नुहुन्छ, यस्तो गर्नुहुन्छ भन्ने थाहा भएको भए म किन विदेश पठाउँथेँ र ?

बिबी आफै विदेश जाने
कतारको करार अवधि सकिएपछि त श्रीमान् घर आउलान् भन्ने आशा थियो बिबीलाई तर आएनन् । न त फोन आउँछ न त मान्छे नै । घरमा आर्थिक अवस्था कमजोर छ । बालबच्चालाई पढाउन र घर व्यवहार चलाउन निकै धौधौ भैसक्यो ।

त्यसैमाथि ‘बिग्रेको घरको भत्केको चाल जता हेर्यो उतै झ्याल’ भनेझैँ लडेर अशक्त हुनुभएको बुवा ससुरा बुवा बेलाबेला बिरामी पर्नुहुन्छ । छिमेकीहरुले बि-जोग हेर्न नसकेर चन्दा उठाएर उपचार गरिदिएका छन् । यस्तै समस्याहरुबाट मुक्ति पाइन्छ कि भन्ने ठानेर बिबी आफै वैदेशिक रोजगारीमा जाने सोचमा हुनुुहुन्छ ।

केही दिन पहिले मात्रै पासपोर्ट बनाउन उहाँ जिल्ला प्रशासन कार्यालय पुग्नुभयो । ९ वर्षकी छोरी र ८ वर्षको छोरालाई माइतीमा छोडेर उहाँले विदेश जाने योजना बनाउनुभएको छ । यी साना बच्चाहरु छोडेर विदेश जानु मेरो बाध्य-ता हो, आँखाभरि आँ-शु पार्दै उहाँ भन्नुहुन्छ, श्रीमान् आउनुभएको भए म किन विदेश विदेश जान्थेँ र ? उहाँले फोनमा बोलिदिए मात्रै पनि ममा आशा जाग्थ्यो । उज्यालो अन्लाईन

२०७९ असार १०, शुक्रबार प्रकाशित 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।