२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगार – युकेको मौसमी भिसामा ठगी, २ लाख लाग्नेमा १५ लाखसम्म असुल्दै !

असार ७, काठमाण्डौँ : वैदेशिक रोजगारी र अध्ययनको लागि आकर्षक गन्तव्य मानिने युनाइटेड किङडम (युके) को मौसमी भिसामा नेपालमा ठगिधन्दा चलेको पाइएको छ।

खासगरी फलफुल टिप्नको लागि छोटो समय (६ महिना) को लागि दिइने भिसामा नेपालका मेन पावर कम्पनीहरुले ठगिधन्दा चलाउने गरेका भेटिएको हो। मौसमी भिसामा युके जान जम्माजम्मी २ लाख रुपैया मात्र खर्च हुन्छ।

तर यहाँ त बिभिन्न कम्पनीहरुले ७ गुणा बढी १५ लाखसम्म रकम असुल्ने गरेका रोजगारीमा जानेहरु बताउँछन्।
नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्, उनी ७ लाख तिरेर त्यहाँ गएको बताएका छन्।

उनका अनुसार मौसमी भिसामा युके जानेहरुले १४/१५ लाख सम्म तिर्ने गरेका छन्। यूके सरकारको वेबसाइटमा उल्लेख गरिए अनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ तिर्नु पर्छ।

त्यसबाहेक कामदारले यात्रा खर्चको लागि एक लाख ४० हजार, श्रम स्वीकृति लिनुअघि गर्नु पर्ने चिकित्सा परीक्षणको शुल्क समेत जोड्दा जम्मा खर्च करिब दुई लाख हुने देखिन्छ। तर यसको सात गुणासम्म पैसा असुल्ने धन्दामा लाग्ने कम्पनी काठमाण्डौँमा प्रशस्तै भेटिन्छन्।

त्यहाँ जान ब्यक्तिगत रुपमा भिसा आवेदन दिन सकिन्छ। तर धेरैले यसबारे थाहा नपाएर बिभिन्न कम्पनीहरूमार्फत महंगो शुल्क तिरेर जान बाध्य भएका छन्।

यस्तो महंगो शुल्क लिने गरेको जानकारी आइरहेकाले आवश्यक अनुसन्धान गरेर कारबाही गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउछन्।

आफै कम्पनी अनुसन्धान गरी आवेदन दिइ ठगीबाट बच्न समेत उनले सबैमा अनुरोध गरे। मौसमी कामदार भिसा आवेदन खुला भएदेखि हालसम्म ९३७ जना नेपालीहरू यूके पुगेका छन्। तीमध्ये १२८ जना मात्र महिला हुन्। बिबिसी

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।