
जेठ २८, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पदबहाली गरेकै दिनबाट भेटघाटलाई तीव्रता दिए। पदबहाली गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका साहले त्यसपछि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरे।
महानगरको मेयरमा स्वतन्त्र उठेर जितेका साहले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटघाट गरिसेका छन्।
साहले मतपरिणाम अन्तिम चरणमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए। उनको यो भेटघाटलाई लिएर राजनीतिक वृतमा विभिन्न कोणबाट अर्थ्याइएको थियो। भेटमा सहले सहयोग गर्न आग्रह गरेका थिए। नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको बुझिन्छ।
राजनीतिक विश्लेषकका अनुसार दलले महानगरमा सहजकर्ताको भूमिका निर्वाह गरिदिने अपेक्षासहित साहले नेताहरूलाई भेटेका हुन्। जे होस् स्वतन्त्र व्यक्तिले राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्न सजिलो होस् भनेर उनले सबै प्रमुख दलका प्रमुखसँग भेटेको धेरैको बुझाइ छ।
तर, साहले काठमाडौं महानगरको मेयर भएपछि मात्र भेटघाट गरेका भने होइनन्। उनले महानगरको उम्मेदवारी दिनु पूर्व नै सम्बन्धित क्षेत्रका विज्ञहरुसँग भेटेर सुझाव सल्लाह लिएका थिए। चुनावको तयारीका क्रममा उनले भेटघाटलाई प्राथमिकता दिएका थिए।
यहीक्रममा उनले भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिसँग भेटेका थिए। काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकामध्ये राम्रो काम गरेको भनी त्यतिबेला मेयर प्रजापतिको चर्चा चुलिएको थियो।
भक्तपुरमा परम्परागत शैली जीवित राख्न, भुइँचालोमा ढलेका सम्पदाहरूलाई पुरानै शैलीमा पुनर्जीवन दिन र मासिएका पोखरी ब्युँताउन महत्त्वपूर्ण काम गरेसँगै प्रजापतिको चर्चा चुलिएको थियो। उनी पुनः दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित पनि भएका छन्।
प्रजापतिको कामबाट प्रभावित साहले भक्तपुर नगरपालिकाको विकाशको मोडेलबारे बुझ्न र आवश्यक सल्लाह लिन उनीसँग भेट गरेका थिए। भेटपछि साहले सामाजिक सञ्जालमा लेखेका थिए ।
मैले बारम्बार भनिरहेको कुरा हो, काठमाडौं हेर्दा भक्तपुर जस्तो हुनुपर्छ भनेर। आज भक्तपुरको मेयर सुनिल प्रजापतिज्यूसँग भेट हुँदा हामीले अमेरिका, जापानबाट वा विदेशी विकास प्रेमी नेताबाट सिक्नेभन्दा, उहाँबाट नि धेरै सिक्न पाइयो। दैनिक न्युज नेपाल