२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

भैरहवा-कुवेत उडान थप्दै जजीरा, ४५ वटा गन्तव्यमा ८ हजार सस्तो भयो टिकट !

जेठ २८, काठमाडौ : महिना सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्ने विषयमा अधिकांश वायुसेवा सञ्चालकहरू अझै टुङ्गोमा पुग्न नसकेको

अधिकारीहरूले बताएका छन्। अहिले त्यहाँ कुवेतको जजीरा एअरवेजले एक सातामा तीनवटा उडान गर्दै आएको छ। जजीराले सातै दिन विमान उडाउने योजना पनि बनाएको अधिकारीहरू बताउँछन्।

तर त्यसबाहेक अन्य वायुसेवा सञ्चालकहरू भने अझै पर्ख र हेर कै रणनीतिमा छन्। एशियाली विकास ब्याङ्कको ऋण एव‍म् ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँ खर्च गरेर उक्त विमानस्थल निर्माण गरिएको हो।

के छ अवस्था ?

अधिकारीहरूका अनुसार भैरहवास्थित विमानस्थलबाट सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरू इच्छुक रहे पनि त्यसबारे सम्झौता हुन सकेको छैन।

जजीराबाहेक एअर अरेबियाले जुन १५ तारिखको छेकोमा उडान सुरु गर्ने योजना बनाएको जनाएको थियो। तर औपचारिक रूपमा उसले उडान सञ्चालनको प्रक्रिया अघि बढाइसकेको छैन।

फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन। विदेशी कम्पनी र नेपालकै निजी क्षेत्रले प्रवर्धन गरेको कम्पनी मात्रै नभएर अहिलेसम्म नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन।

सहप्रवक्ता ज्ञानबहादुर अर्यालका अनुसार भैरहवाबाट उडान सुरु गर्नका लागि निगमले अहिले खाका तयार पार्ने प्रक्रिया सुरु गर्न लागेको छ। अहिले राष्ट्रिय ध्वजावाहकले चार विमानमार्फत् आठ देशका १० वटा गन्तव्यमा उडान गरिरहेको छ।

निगमका विमानले यी गन्तव्यमा सातामा झन्डै १०० उडान गर्दै आएका छन्। पर्यटकीय दृष्टिकोणबाट हेर्दा बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्व बोकेका ठाउँ भएकाले जापान, थाईल्यान्डजस्ता स्थानका केही उडानलाई भैरहवाबाट गर्ने कि भन्ने सामान्य छलफलको तहमा छ, अर्यालले भने।

श्रम गन्तव्यका लागि पनि त्यो पायक पर्ने ठाउँ नै हो।
हाल निगमका विमानले ब्याङ्ककमा साताको पाँच अनि जापानमा तीनवटा उडान गर्दै आएका छन्।

नयाँ विमानस्थलमा कम्पनीहरूलाई आकर्षण गर्नका लागि सरकारले विभिन्न छुटको समेत व्यवस्था गरेको छ।
तर त्यसले पनि सेवा प्रदायकहरूलाई औपचारिक प्रक्रिया अघि बढाउनका लागि प्रेरित भने गर्न सकेको छैन।

के छन् सुविधा

अधिकारीहरूका अनुसार भैरहवाबाट उडान गर्दा एअरलाइन्सले प्रतिउडान १,००,००० रुपैयाँ सम्मको छुट प्राप्त गरेका छन्।
सरकारले उपलब्ध गराएको सहुलियत अनि उडान प्रवर्धन गर्नका लागि जजीराले यात्रुलाई उपलब्ध गराएको छुटका कारण हाल भैरहवा विमानस्थलबाट कुवेतको हवाईयात्रा गर्दा काठमाण्डूभन्दा झन्डै ८,००० रुपैयाँ सस्तो परेको अधिकारीहरू बताउँछन्।

त्यसले कुवेत हुँदै जजीराले उडान भर्ने ४५ वटा गन्तव्यमा जाने यात्रुहरू लाभान्वित भएका छन्। नेपाल वायुसेवा निगमको विमानले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको थियो

जजीरा एअरलाइन्सबाट भैरहवा-कुवेत उडानमा पछिल्ला केही दिनमा औसतमा १५० यात्रु र कुवेत-भैरहवा उडानमा ११५ को हाराहारीमा यात्रु रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।

नयाँ विमानस्थलका लागि उक्त सङ्ख्या उत्साहजनक रहेको बताइन्छ। तर उक्त सङ्ख्या र थप उडान गर्ने जजीराको योजनाकै भरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बजार आकलन गर्न सकिने अवस्था भने नरहेको निगमका अधिकारीहरूको भनाइ छ।

निगमले ग्राउन्ड ह्यान्ड्लिङमार्फत् आफ्नो उपस्थिति जनाइसकेको छ। हाम्रो कार्यालय, टोली त्यहाँ छ। तर उडानकै विषयमा भने उच्च नेतृत्वले निर्णय लिन बाँकी नै छ, अर्यालले भने।
अधिकारीहरूका अनुसार अहिले तौलका हिसाबले न्यारो बडी विमानलाई ल्यान्डिङ शुल्क, पार्किङ शुल्क, कम्युनिकेशन एन्ड न्याभिगेशन शुल्क र सेक्युरिटी शुल्क शतप्रतिशत छुट दिइएको छ।

नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ गत जेठ १४ देखि लागु भएको छ। त्यसकारण उक्त मितिबाट एक वर्षसम्म वायुसेवा सञ्चालकहरूले छुट पाउने छन्, साहले भने।

सरकारले उपलब्ध गराएको छुट अझै बढ्न सक्ने आकलनका कारण पनि कतिपय वायुसेवा कम्पनीले अहिले नै सेवा सुरु गर्न नचाहेको हुन सक्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू बताउँछन्।

जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता ‌औँल्याएको बताइन्छ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता

देवचन्द्र लाल कर्ण भने हवाईसेवा सञ्चालकहरू त्यस्तो अपेक्षाकै कारण रोकिएको ठान्दैनन्। उनी भन्छन्, उनीहरूको लागि यो रकम नगण्य हो। बजार भएपछि जहाँ पनि जान्छ, जस्तो सुकैमा पनि जान्छ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार