२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

नेपालले एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात !

जेठ २६, काठमाण्डाै : नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा

आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए ।

नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ ।

आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ ।

डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ ।

लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । पानी पर्ने क्रम बढेकोले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा धेरै विद्युत् उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 0 Minutes 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।