२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अध्यक्ष पोख्रेल भन्छिन – प्रधानमन्त्रीलाई शेयर बजारको अवस्थाबारे जानकारी हुँदैन भने हामीले कोसँग आश गर्ने ?

जेठ २४, काठमाण्डाै : चालु आर्थिक वर्षको सुरुवातसँगै ओरोलो लाग्न थागेको नेपाली शेयर बजार एक हजारभन्दा बढी अङ्कले घटेकाे छ । शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरू आत्तिएका छन् ।

चालु आर्थिक वर्षको नाै महिनामा शेयर बजारमा उतारचढाव चलिरहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिले शेयर धितो कर्जामा ४/१२ करोडको नीति ल्याएसँगै बजार ओरालो लाग्न सुरु भएको थियो ।

शेयर बजार लगानीकर्ताहरूले राष्ट्र बैंकको नीति संशोधन गर्न बारम्बार माग गरे पनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सरकारकाे आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शेयर बजारकाे हितमा नीति नआउँदा लगानीकर्ताहरू असन्तुष्ट छन् ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले शेयर बजार लगानीकर्ताहरूको माग सम्बोधन नगरेको र बजेटमा सरकारले लगानीकर्तालाई सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ताहरूले माग सम्बोधन गर्न हिजाे आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

आइतवार नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लगानीकर्ताहरूले शेयर बजारको विकास र विस्तार गरी माग सम्बोधन गर्न दबाब दिएका थिए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आज सोमवार सङ्घकी अध्यक्ष पोखरेलले शेयर बजारका नियामक निकायहरूले लगानीकर्ताहरूको माग सम्बोधन नगरेकाले बाध्य भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो । अध्यक्ष पोखरेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत सम्बन्धित निकायलाई बारम्बार भेट गर्दा माग सम्बोधन माग गर्छाैँ भन्ने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन नगरि आश्वासन मात्रै दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा धेरै समस्याहरू छन् । त्यो समस्या बजार चल्दै जाँदा आउने/जाने भए तर अहिलको मुख्य समस्या भनेको लगानीकर्तालाई जसरी हुन्छ बचाउनु हो ।’

अध्यक्ष पोखरेलले नाै महिना अगाडि नेप्से परिसूचक ३२ सय अङ्कमा पुग्दा लगानी गरेकाहरूकाे अवस्थालाई सरकारले बुझ्न नसकेको बताउनुभयो । उहाँले शेयर लगानीकर्ताहरू डुब्न लाग्दा पनि सरकार मौन बसेकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ३२ सयकाे बिन्दुमा लगानी गर्नेहरूकाे हालत के भएकाे हाेला ? यसबारेमा प्रधानमन्त्री किन बोल्नुभएन भन्छौँ । हामीले प्रधानमन्त्रीसँग चार वटा मात्रै माग उठाएका छौँ । मैले उहाँलाई शेयर बजार अहिलेकै अवस्थामा रह्यो भने लगानीकर्ता घरको न घाटको भएको सुन्न सक्नु हुनेछ, यस्तो अवस्थामा तपाईँहरू बोल्ने कि नबोल्ने भनेँ । उहाँले गभर्नरलाई फोन लगाउन आदेश दिनुभयो र फोन गयो । गभर्नरले भनेको कुरा सुनिएन । गभर्नरले हुन्छ भन्नु भएजस्तो लाग्यो । प्रधानमन्त्रीले हुन्छ होइन गर्नुपर्ने भयो भन्नुभयो ।

अध्यक्ष पोखरेलले लगानीकर्ता सङ्घले उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गरेमात्रै शेयर बजारले गति लिन सक्ने बताउनुभयो । उहाँले लगानीकर्ताको माग सम्बोधन नभएसम्म शेयर बजारले गति लिन्छ भन्ने आशा नभएको बताउनुभयो । अध्यक्ष पोखरेले अब पनि सरकारले शेयर बजारप्रति लाचारीपन देखाएमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले उठाएका मुद्दाहरूकाे तत्काल सम्बोधन भयो भने शेयर बजारले गति लिन्छ । नभए तत्कालै हामीले आश नगर्दा पनि हुन्छ । अहिले भएका लगानीकर्ता पनि बाहिरिने अवस्था सिर्जना भएको छ । अहिले बजारलाई क्र्यासकै अवस्थामा पुर्‍याइएकाे छ । प्रधानमन्त्रीजस्तो मान्छलाई शेयर बजारको यो अवस्था छ भनेर जानकारी हुँदैन भने हामीले कोसँग आश गर्ने ?’

अध्यक्ष पोखरेलले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेसँगै घट्न सुरु भएको शेयर बजारले अझै निरन्तरता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो आठ महिनादेखि शेयर बजार निरन्तररूपमा ओरालो यात्रामै छ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेसँगै शेयर बजार घट्न सुरु भएको हो ।

तर पछिल्लो अवस्थामा नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जामा ४/१२ करोडको सीमा नै पहिलो कारण हो । राष्ट्र बैंकले शेयर बजारप्रति ल्याउने नीति ल्याउने बित्तिकै बजार घटिहाल्छ । राष्ट्र बैंकले के भन्ने गरेको छ भने– हामी तपाईँहरूको नियामक होइन भन्छ तर नीति भने शेयर बजार घटाउने ल्याउँछ ।’

त्यस्तै अध्यक्ष पोखरेलले शेयर लगानीकर्ता नेप्से सकारात्मक दिशामा नगएसम्म सन्तुष्ट हुने अवस्था नभएको बताउनुभयो । उहाँले शेयर बजार निरन्तररूपमा घट्दा समेत सरकारले बजेटमा उपेक्षा गरेको बताउनुभयो । बजार बढाएर शेयर बजारलाई चलायमान बनाउने बजेट आउने आशा लगानीकर्ताहरूको भए पनि बजेट विगतको कपी मात्रै भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।